३० असार २०८२, सोमबार | Tue Jul 15 2025


तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प


0
Shares

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ।यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो प्रयासपछि मेलम्चीको पानी काठमाडौं उत्पत्यकामा ल्याइएलगत्तै गत वर्षात्मा बाढीपहिरोले मुहान क्षेत्रमा क्षति पुर्‍याएपछि आयोजना अवरुद्ध बनेको हो।

बाढीपहिरोले मुहानमा पुर्‍याएको ठूलो क्षतिका कारण यस आयोजनाको भविष्यबारे अनेकौं अड्कलबाजी र धारणा सार्वजनिक भइरहेका बेला सरकारले विकल्प खोजेपछि यो तत्कालै मर्मत हुनेमा अन्योल सिर्जना भएको हो।

सरकारी अधिकारीहरू बाढीपहिरोबाट मेलम्ची आयोजनामा पुगेको क्षति र यसको पुनर्निर्माणको समयबारे खुलेर बोल्न चाहेको देखिँदैन।तर पछिल्ला दिनमा सरकारले स्थायी रूपमा मेलम्चीको पानी ल्याउनुको सट्टा २ विकल्प अघि सारेर काम थालेको छ।

दुई विकल्पमध्ये एउटा अस्थायी रूपमा हिउँदमा मात्र मेलम्चीबाट पानी ल्याउने छ। दोस्रो विकल्पमा काठमाडौं उपत्यकाका १० स्थानमा नयाँ बोरिङ खन्ने योजना छ। तत्काल पुनर्निर्माणको सट्टा सरकारले नयाँ विकल्प अघि सारेपछि आयोजना छोटो समयमा बन्न सक्दैन कि भन्ने आशंका उत्पन्न भएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले मेलम्ची नदीको बाढीपहिरो नियन्त्रण नगरेसम्म दीर्घकालीन रूपमा काठमाडौं उपत्यकामा पानी ल्याउन चुनौती भएको स्विकारे। ‘मेलम्चीको जलाधार क्षेत्रमा बाढीपहिरोको स्थायी नियन्त्रण नगरेसम्म दीर्घकालीन रूपमा पानी उपत्यकामा ल्याउन समस्या हुने देखिन्छ,’उनले नागरिकसँग भने,‘त्यसैले अहिले हामीले अस्थायी रूपमा मात्रै पानी ल्याउन आवश्यक काम गर्न लागेका हौं।’

नागरिक