Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सबै सम्पत्ति रोक्का, एक अर्ब सम्पत्ति भेटियो


0
Shares

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसँग करिब एक अर्ब रुपैयाँको सम्पत्ति भेटिएको छ  ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो । उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ  ।

विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ  । मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको छ । विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ ।

विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ । मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो । रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ ।

मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ । ‘धेरै सम्पत्तिको स्रोत नखुलेपछि रोक्का राखेर छानबिन अघि बढाएका हौँ,’ विभागका एक अधिकारीले भने, ‘विद्यार्थी ठग्ने मेडिकल कलेजमाथिको कारबाही अब कसैले रोक्न सक्दैन ।’

अर्यालको युनिभर्सल मेडिकल कलेजमा समेत लगानी

स्याङ्जाको भिरकोट नगरपालिका–७ स्थायी घर भएका खुमा अर्यालको गण्डकी मात्र नभई युनिभर्सल मेडिकल कलेजमा समेत लगानी छ । गण्डकीमा उनको सात करोड ८२ लाख ५० हजार रुपैयाँ लगानी छ ।

त्यस्तै, भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ स्टडिज एन्ड रिसर्च सेन्टरमा १८ करोड ८८ लाख रुपैयाँ लगानी छ । युनिभर्सलमै उनले दाजु भेषराज अर्यालको नाममा ६ करोड ८१ लाख ८७ हजार आठ सय रुपैयाँबराबरको सेयर लगानी गरेका छन् ।

खिलुङ कालिका एग्रो फार्ममा आफ्नै नाममा एक करोडको लगानी गरेको देखिन्छ । सोही एग्रो फार्ममा बुबा गंगाप्रसाद तथा दाजु भेषराजको नाममा समेत एक करोड लगानी गरेको भेटिएको छ ।

महालक्ष्मी विकास बैंकमा चार करोड २६ लाख रुपैयाँ लगानी छ । त्यस्तै, विभिन्न आफन्तको नाममा हाइड्रोपावर कम्पनीमा लगानी रहेको र विभागले त्यसको खोजबिन गरिरहेको छ ।

५० ठाउँमा जग्गाा 

अर्यालको नाममा विभिन्न जिल्लामा ५० ठाउँमा जग्गा भेटिएको छ । काठमाडौं, दाङ, धनुषा, कास्की, स्याङ्जा र मकवानपुरमा उनको नाममा ठूलो मात्रामा जग्गा भेटिएको छ । बुबा र भाइको नाममा समेत खरिद गरिएका ती जग्गासमेत मालपोत कार्यालयले रोक्का राखेको छ ।

उनको काठमाडौंको बानेश्वरमा घर छ । अन्य जिल्लामा समेत ठूलो मात्रामा जग्गा खरिद गरेको छानबिनमा खुलेको छ । सस्तोमा आफ्नो नाममा जग्गा किनेर त्यही जग्गा आफूसम्बद्ध कम्पनीलाई महँगोमा बिक्री गरेको तथ्यसमेत अनुसन्धानमा खुलेको छ ।

बैंक खातामा मात्र आठ करोड 

अर्यालका नाममा रहेका सबै बैंक खाता दुई साताअघि नै रोक्का भइसकेको छ, जसमा करिब आठ करोड रुपैयाँ भेटिएको छ । बैंकमा भएका कतिपय कारोबार शंकास्पदसमेत देखिएको विभाग स्रोत बताउँछ ।

१० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने प्रावधान छ । मेडिकल कलेजको बैंक खाता भने रोक्का गरिएको छैन । आफ्ना सबै सम्पत्ति रोक्का भएपछि विभागमाथि अनुसन्धान रोक्न अर्यालले दौडधुप सुरु गरेका छन् ।

ठूला नेतामार्फत विभागका महानिर्देशक रूपनारायण भट्टराई र अनुसन्धान आबद्ध कर्मचारीलाई दबाब दिन थालेको स्रोत बताउँछ । अनुसन्धानमा उनले असहयोग गरिराखे पक्राउ गरेरै अघि बढ्ने विभागको तयारी छ । –नयाँ पत्रिका दैनिकबाट