ओली : गाली, बहस र उखानका त्रिवेणी ! « Image Khabar


ओली : गाली, बहस र उखानका त्रिवेणी !


२६ कार्तिक २०७८, शुक्रबार ०८:१२


पेशल आचार्य
छठको छेक पारेर तराई घुम्न जाँदा दुई जना बुढाहरू एकापसमा गफगर्दै थिए । एउटा बुढा अर्कालाई गफदिँदै रहेछन् । फ्यास्स सुनिहालियो । निकै घत पर्‍यो । उनको भनाइ जस्ताको तस्तै –‘नेता होई तो ओली जैसन बा, बर्ना नाहोई ।’ (नेताहुनु त ओलीजस्तो बरूनहुनू ।)
नामथर उल्लेख नगर्ने सर्तमा नेकपा एमालेका एक जना युवा कार्यकर्ता भन्छन् –‘मैले गाउँ छाडेको २० वर्ष भयो । काम विशेषले म कहिलेकाहीँ गाउँ जान्थेँ । यस पटक म पार्टीको गाउँ अघिवेशनका लागि गाउँ गएँ । संसारमा यति धेरै जमिन आस्मानमा चेन्ज भैसक्दा पनि मैले मेरो गाउँमा रहेका केही बुढाहरूमा देखेँ उनीहरूका लागि नेता भन्नु केपी ओली, पार्टी भन्नु नेकपा एमाले र चुनाव चिन्हभन्नु नै सूर्य रहेछ । म एमालेकै भोटर सो देखेर तीन छक्क परेर आएँ ।’

माथिका यी दुवै अनुभव अंशले वर्तमान समयमा नेकपा एमालेको चार्म र ओलीको सामाजिक छविका बारे बुझ्न सजिलो हुन्छ । तराजुको पल्लाकतै पनि नढल्काइकन भन्ने हो भने नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाल जस्तो २० वर्ष पनि एउटै सेन्टिमेन्टमा रहिरहने देशका लागि बडो उपयुक्त नेता हो । अझ एमालेकै भोटर, सदस्य, कार्यकर्ता र नेताहरूका भाषामा भन्दा त ‘राजनेता’ हो ।

यी सन्दर्भहरूले भूमिका बाँधिसकेपछि अब मूल विषयमा पस्न कुनै ‘इस्सु’ खोजिरहनु परोइन । ‘आठ पासे’ ओलीले हिजो कांग्रेस र माओवादीको स्थानीय चुनावमा लगनगाँठो बाँधिदा र एमालेलाई घाटा हुँदा जसरी प्रचण्डलाई आफ्नो मोहनीपाशमा बाँधेर पार्टी एकता गरे त्यसपछि उनी मुलुककै सर्वाधिक शक्तिशाली बहुमतका प्रधानमन्त्री बनेर ४० महिना बेहिचकशासन गरे । सुनिँदैछ गठबन्धन सरकार अब कम्तिमाप्लस टु नगरेको व्यक्तिप्रधानमन्त्रीहुननपाउने कानुनबनाएर ओलीजस्तालाई छेक्न खोज्दै छ रे !
त्यो शासन माउनले देखेका सपनाहरू पूरा गर्नका लागि गजेट, बजेट, राइट मेन राइट प्लेस र उच्चप्राविधिक विशेषज्ञलाई साथ लिएर अघि बढेका भए उनको भाषामा उनैले भने जस्तो ‘सम्वृद्धि र विकास’ नेतृत्व गर्नसक्ने ‘राजनेता’ हुन्थे होलान् । तर उनी जस्तो हाइट बनाएको एउटा कार्यकारीले जुन तबरले गाली, बहस र उखानका ‘त्रिवेणी’ बनेर सस्तो लोकप्रियता कमाउनका लागि ‘प्यारप्यारे’ शैलीमा प्रस्तुत भए त्यसले उनको राजनीतिक हाइट मात्र एकाएक घटाएन कि पार्टीलाई नै केन्द्र र प्रदेशका गरी सातवटै सरकारबाट खम्य्राङ्खुम्रुङ्् झार्ने काम गर्‍यो । यो केवल उनैको अहम्ले गर्दा भएको थियो ।
दुःखको कुरो अहिले यिनीसँग न शासन छ, न सत्ता छ । केहीपनि छैन तर पनि यिनी ‘वान मेन आर्मी’ शैलीमा बेरोकटोक बोलिरहेका छन् । उनको पार्टी भित्रका सैँयौं प्रभावशाली नेताहरू तैँ चुप मै चुप छन् । आखिर किन यो खोजको विषय हुनसक्छ ।

पार्टीभित्रबागी स्वभाव देखाउने भीम रावलप्रवृत्तिका नेताहरूलाई ओलीले बोलेरै ठेउल्याउनेदेखि प्रतिपक्षी भएर बोल्नका लागि बोल्नै पर्ने इसुहरू जसरी अहिले ओलीले राजनीतिक बजारमा फालिरहेका छन् तिनले यिनको राजनीतिक कद र काँटी पक्कैपनि घटाइरहेका छन् ।

नेकपाएमालेले देशैभरि वडा अधिवेशन गराइरहेका बेला भर्चुअल माध्यमबाट शुभकाम नादिने क्रममा प्रतिपक्षीदलका नेता केपी ओलीले ‘कांग्रेस अब बुढो पार्टी भयो जसले आफ्नो अधिवेशनसमेत गराउन सक्ने छाँट देखिएन’ भन्नेदेखि हास्य रसले भरिपूर्ण ‘नेकपाको सरकारले गरेका एकसे एक विकासे कार्यहरूको रेकर्ड राख्ने हो भने पूरै गिनिजबुकको आधाभन्दा बढी त हामीले गरेका विकासे कामहरूले भरिने थिए । हामीले रेकर्ड नपठाएर मात्रै हो ।’ आशयका हावादारी गफ सुन्दा लामो समयदेखि प्रशारण भैरहेको ‘मुन्दे्रको कमेडी क्लब’ बन्द भएपनि नागरिकहरु गतिलो जोका नुभूति गर्दै छन् ।

जसपा नेता तथापूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कटाक्षपरक भावले इङ्गितगर्दै ‘मलाई अचम्म लाग्छ । हामीलाई पासपोर्ट र भिसा नदिने बेलायतले उसबेला भूमिगत अवस्थामा बाबुरामलाई कसरी भिसादियो र उनले महिनाको पाँचौं लाख खर्च हुने गरी छोरीमानुषी भट्टराईलाई बेलायतमा शिक्षा दिलाउन सके’ भन्ने सम्बन्धी गालीपरक बहस, बेलाबेलामा माधव नेपाल र प्रचण्डलाई हियाउने शैलीका उट्पट्याङ्परक गालीका बौछारहरू र वर्तमान समयमा न्यायलयमा देखिएको नौटङ्कीमा उनले प्रकट गरेका अभिव्यक्तिहरूलाई मिहीन विश्लेषण गरी सङ्कथनात्मक शैलीमा संश्लेषण गर्ने हो भने ओलीले अहिले जति पनि कुराहरू सञ्चार माध्यमबाट बाहिर ओकलिरहेका छन् ती एकअर्कामा विरोधाभाष उत्पन्न गर्ने त छँदैछन् बाद्बाँकी निकट भविष्यमा हुने स्थानीयतहको चुनावका लागि प्रयोग हुने फन्डाहरू ह्वारह्वार्ती निकालेका छन् ।

उनकै सरकारले संसदमा टेबुल गरेको एमसीसी अहिले गठबन्धन सरकारका लागि गलाको पासो भएको छ । यसकै कारण वर्तमान गठबन्धन टुट्ने सङ्केत समेत गरिँदैछ । ओली यसमै पनि खेल्न खोजिरहेका छन् । उनले एकातिर ‘एमसीसी संशोधन सहित पारित हुनुपर्छ’ भनेका छन् भने उनकै पार्टीका नेता विष्णु रिमालचाहिँ ‘एमसीसीका बारे एमालेको कुनै टिप्पणी नै छैन । सरकारलाई अनुदा नलिन मन भएपास गर्नु नभएनगर्नु’ भन्ने रूखो शैलीमा अन्तर्वार्ता दिइरहेका छन् ।

ओलीले सर्वोच्चको किचलोका बारेमा भनेका छन् –‘परमादेश दिने पाँचवटै न्यायाधीशहरूले राजीनामा दिनुपर्छ । तत्पश्चात सरकारले समेत राजीनामा दिनुपर्छ ।’ राजनीतिक घटनाक्रमहरुले ३६० डिग्रीको परिवर्तन लिइसक्दा ओली भने अझै ‘जनादेश भर्सेज परमादेश’ कै उल्झनमा अल्झिरहेका देखिन्छन् ।

अहिले बच्चाबच्चालाई थाहा छ कि ओली आउने तीन तहकै चुनावका लागि भाषणका वर्षा गरिरहेका छन् । उनले नेकपा एकीकृत समाजवादीको हालत २०५४ को वामदेवझैँ हुनेछ । आफ्नो पार्टी एक्लैले चुनाव लडे पनि आफ्ना भोटरहरू टसको मस नभएकाले आफ्नो पुनरागमन संसदमा सानका साथ हुनेछ । पुनःबहुमतको सरकारको मुखियाआफू बन्नेछु भन्ने सोच सँगालेका छन् । कथम् यो पूरा भयो भने ओलीका खुट्टा भुइँमा हुने छैनन् ।

हुनपनिहो उनका पार्टीका दोस्रो पुस्ताका नेताहरू कोही पनि ओलीका अभिव्यक्तिलाई काउन्टरदिने हैसियतमा अझसम्म देखिएनन् । त्यसैले नेताहरू ईश्वर पोखरेल, सुवाष नेमाङ्ग, प्रदीप ज्ञवाली, विष्णु रिमाल र अमृत बोहराहरू ओलीलाई अप्रिय लाग्ने खालका अभिव्यक्ति दिनुभन्दा चीसो मौनता साँधेर उनलाई खुस ीपार्नमै तन्मयसाथ लागेका छन् । महेश बस्नेत र गोकुलबाँस्कोटाहरूले यदाकदा पटाका शैलीमा केहीबोलिहाले पनितिनीहरूले राजनीतिक रूपमा राख्नु पर्ने जति अर्थ राख्नै छाडेका छन् ।

यसरी गाली, बहस र उखान होलसेलदेखि खुद्रासम्म ओलीकै मुखार विन्दबाट सप्लाई गर्नुपर्ने बाध्यता अहिले नेकपा एमालेलाई छ । भोलि नेकपा एकीकृत समाजवादीले एमालेलाई र एमालेले समाजवादीलाई ‘चुनावमा तातोपानी लगाएर खुइल्याउने परिस्थिति’ आया ेभने अझ नवीन संस्करणका गाली, बहस र उखानहरूको जन्मन होलाभन्न सकिन्नँ ।