Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


बोक्सी आरोपमा बहिस्कारः पेटबाट सर्प, भ्यागुता निकाल्न भन्दै लास चिरियो


0
Shares

गोरखा, साउन १९ । मृतकको पेटबाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै धार्चे गाउँपालिका–६ काशीगाउँमा एक मृतकको शव चिरिएको छ ।

बोक्सी लागेर मरेको र उसको पेटभित्र सर्प, भ्यागुता, छेपारो रहेको भन्दै स्थानीय उच्छृंखल युवाले गत शुक्रबार (साउन ११ गते) ५२ वर्षीय भीम गुरुङको शव चिरेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।

धामी–झाँक्रीबाट उपचार गराउँदा–गराउँदै गुरुङको अघिल्लो बिहीबार धोरतस्थित झाँक्रीकै घरमा मृत्यु भएको स्थानीय शिक्षिका राममाया गुरुङले बताइन् ।

‘भोलिपल्ट दाहसंस्कार गराउन चिहानडाँडा लगेको लासलाई स्थानीय युवाहरुले खुकुरी, हँसियाले चिरफार गरे’–उनले भनिन्–‘हामी गाउँमा थिएनौं । मास्क लगाएका युवाहरूले लास काटेछन् । गाउँलेहरूले फोटो, भिडियो खिचेर फलानो बोक्सी लागेर मरेको भन्दै देश–विदेशमा पठाएका छन् ।’

स्थानीय ५६ वर्षीया काली गुरुङ र उनकी छोरी मीनकुमारी गुरुङमाथि बोक्सीको आरोप छ ।

‘हाम्री आमा र बहिनी बोक्सी लागेर उनको मृत्यु भएको र बोक्सी लागेर मरेको मान्छेको शरीरभित्र भ्यागुता, सर्प र छेपारो हुन्छ भन्ने गाउँमा अन्धविश्वास छ’–आरोपित गुरुङकी छोरी सोममाया गुरुङले त्रसित मुद्रामा भनिन्–‘आमा र दिदीले बोक्सी लागेर मरेको मान्छेभित्रबाट सर्प, भ्यागुता र छेपारो निकाल्ने भन्दै लास चिरेका हुन् ।’

लास चिरेको भोलिपल्टदेखि आफ्नो परिवारलाई सामाजिक बहिस्कार गरेको उनले बताइन् ।

‘बोक्सीको परिवार भनेर हाम्रो खलकको हातको पानी बारेका छन्’–उनले भनिन्–‘गाउँमा मर्दापर्दा हाम्रो घरबाट लगेको मानो चामल, रक्सी चढाउन दिएनन् । समाजिक बहिस्कार गरेका छन् । बोक्सीको आरोपमा बेइज्जत गरेपछि बुवा–आमाको खानुखट्नु छैन । घरभित्रै बिरामीजस्तो भएर बस्नुभएको छ ।’

बोक्सीको आरोपमा आफूहरूको पाउरोटी उद्योग चल्न छाडेको उनले सुनाइन् ।

‘बोक्सीको खलकले बनाएको पाउरोटी खाँदैनौं भनेर हाम्रो पाउरोटी बहिस्कार गरेका छन्’–उनले भनिन्–‘हामीले पाँच लाख रुपैयाँ खर्च गरेर भर्खरै चलाउन थालेको पाउरोटी उद्योग अहिले बन्द भयो ।’

मृतक गुरुङ गत मंसिरदेखि बिरामी थिए । रगत छाद्ने समस्याले ग्रस्त उनले पोखराको मणिपाल अस्पतालमा उपचार गराएको शिक्षिका गुरुङले जानकारी दिइन् ।

‘तर बोक्सी लागेर बिरामी भएकालाई औषधिले छुँदैन भनेर अस्पतालको औषधि खान रोकेर झारफुक गरेर राखेका थिए’–उनले भनिन्–‘मुटुको रोग लागेको भनेर अस्पतालले औषधि दिँदादिँदै पनि बोक्सी लागेर मरेको आरोप लगाए ।’

अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार ।