
लाहोर, पुस २८ । पूर्वपाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदन्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।
सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुशर्रफ र तत्कालीन प्रधानमन्त्री नवाज शरिफबीच कारगिल युद्धमा सेनाको संलग्नताको विषयमा विवाद उत्पन्न भएपछि रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख मुशर्रफले सत्ता आफ्नो हातमा लिएका थिए ।
उनले सन् २००७ नोभेम्बरमा संकटकाल लगाएर संविधान निलम्बित गरेका थिए ।
यसै विषयमा पछि पाकिस्तानमा मुद्दा परेपछि सुनुवाइका लागि बनेको विशेष अदालतको गठन संविधानसम्मत् नभएको लाहोर उच्च अदालतले ठहर गरेको हो ।
लाहोर उच्च अदालतका न्यायाधीशहरू सैयद मजाहर अलि अकबर नाकभी, मोहम्मद अमीर भाटी र चौधरी मसूद जहानगीरको तीन सदस्यीय पूर्ण इजलासले मुशर्रफमाथि लगाइएको ‘देशद्रोह’को मुद्दा पाकिस्तानी कानुनको भावनाअनुकूल नभएको बताएको पाकिस्तानी अंग्रेजी पत्रिका ‘डन’ले लेखेको छ ।
उक्त विशेष अदालतले पूर्वपाकिस्तानी शैनिक शासक जनरल परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’को अभियोगमाथि सुनुवाइपछि दोषी ठहर गर्दै गत डिसेम्बर १७ मा मृत्युदन्डको फैसला सुनाएको थियो ।
त्यसपछि मुशर्रफले आफ्ना कानुनी सहयोगीमार्फत् लाहोर उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए ।
उनले आफ्नो मुद्दा सनुवाइका लागि गठन भएको विशेष अदालतको गठन असंवैधानिक रहेको र यसले संविधानको धारा १० (क) को उल्लंघन गरेको भन्दै पुनरावेदन गरेका थिए ।
मुशर्रफको पुनरावेदन लाहोर उच्च अदालतमा डिसेम्बर २७ मा आएपनि जाडो विदाका कारण पूर्ण इजलास तोक्न सकेको थिएन ।
लाहोर उच्च अदालतले ख्वाजा अहमद तारिक रहीम र अजहर सिद्दिकीको वैधानिक समितिले पुनरावेदनका लागि परेको निवेदनलाई यही जनवरी ८ मा दर्ता गरेको थियो । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्