रावलप्रति भट्टको टिप्पणी–‘फरक मत पार्टीको कमिटीमा राख्नुस्, सञ्जालमा नौटङ्की नदेखाउनुस्’ « Image Khabar


रावलप्रति भट्टको टिप्पणी–‘फरक मत पार्टीको कमिटीमा राख्नुस्, सञ्जालमा नौटङ्की नदेखाउनुस्’



काठमाडौं । नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिनुभएको छ ।

मंगलबार बिहान एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिनुभएको हो ।

एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउन पनि चेतावनी दिनुभयो ।

रावलको ट्वीटप्रति आपत्ति जनाएपछि नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको असन्तुष्टिलाई जनता र कार्यकर्ताको बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताउनुभयो । उहाँले असन्तुष्ट विचारले अन्य पार्टी विपक्षीहरूलाई मात्र खुशी बनाउने बताउनुभयो ।

नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितिमा प्रदेश कमिटीको पूर्ण बैठक चलिरहेको हो । पूर्ण बैठकमा प्रदेश अध्यक्ष थापाले सुदूरपश्चिममा एमाले अधिवेशन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताउनुभयो ।

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको थियो ।