भारतको उत्तर प्रदेशमा बढ्यो जिका भाइरस, उच्च जोखिममा पश्चिम तराईका जिल्ला « Image Khabar


भारतको उत्तर प्रदेशमा बढ्यो जिका भाइरस, उच्च जोखिममा पश्चिम तराईका जिल्ला

गर्भवतीमा संक्रमण देखिए शिशुको मष्तिष्कमा समस्या देखिने विज्ञको भनाइ


प्रज्ञा तिमल्सीना
काठमाडौं । भारतको दिल्ली र उत्तर प्रदेशमा जिका भाइरस संक्रमण देखिन थालेसँगै नेपालमा समेत जोखिम बढेकोे छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा तीव्र संक्रमण बढ्ेपछि सचेत रहन स्वास्थ्यकर्मीहरूले सल्लाह दिएका छन् । अझ गर्भवती महिलालाई जिका भाइरसको संक्रमण देखिएमा गर्भमा रहेको शिशुको मस्तिष्क विकासमा दीर्घकालीन असर पार्ने खतरा रहन्छ ।

सन् १९४७ मा युगान्डाको जिका जंगलमा बस्ने बाँदरहरूमा पहिलो पटक देखिएको जिका भाइरस मानिसमा भने सन् १९५४ मा नाइजेरियामा देखिएको थियो । विस्तारै अन्य स्थानमा फैलिएको यो भाइरस सन् २०१५ मा ब्राजिलमा द्रुत गतिमा फैलिएको थियो ।

सन् २०१६ पछि पटक–पटक भारतमा देखिँदै आएको भाइरसको संक्रमण नेपालमा भने हालसम्म पुष्टि भएको छैन । एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने यस भाइरसका कारण मृत्युदर भने निकै कम रहेको छ । तर यो जातको लामखुट्टे नेपालमा सबैतिर पाइने हुँदा जोखिम बढेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

जिका भाइरस संक्रमित ५ मध्ये १ जनामा मात्र लक्षण देखिने गर्छ । यस भाइरसबाट संक्रमित मानिसमा ज्वरो आउने, छाला रातो हुने, जोर्नी दुख्ने लक्षण देखिन्छ । अन्य व्यक्तिलाई खासै असर नगरे पनि गर्भवती महिलालाई जिका भाइरसको संक्रमण देखिए शिशुमा जन्मजात मष्तिष्कको समस्या देखिने र उमेर अनुसार टाउकोको विकास नहुने डा. पुनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शिशुमा देखिने मस्तिष्क विकास नहुने माइक्रोसेफाली समस्या दुर्लभ रूपमा देखिने र जसको आजसम्म कुनै उपचार विधि नै छैन । जिकाको संक्रमण भारतमा देखिए सँगै नेपालमा जोखिम बढे पनि सरकारले परीक्षणमा तदारुकता देखाएको छैन । भारतमा प्रकोपको रुपमा फैलिएसँगै नेपाल यसको मुख्य जोखिममा रहने गरेको छ ।

जिका, डेगीं र चिकनगुनिया भाइरस एडिस लामखुट्टेको टोकाइबाट नै सर्ने हुँदा त्यसको नियन्त्रणका लागि अध्ययन हुन जरुरी छ । जिका भाइरसविरुद्ध हालसम्म हुने उपचार र खोप नभएका कारण लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै पहिलो अनि अन्तिम उपाय हो ।