सत्तारुढ गठबन्धनले बनाए ११ सदस्यीय समन्वय समिति, बैठकमा प्रधानन्यायाधीशको विषयले पाउँदै पाएन प्रवेश « Image Khabar


सत्तारुढ गठबन्धनले बनाए ११ सदस्यीय समन्वय समिति, बैठकमा प्रधानन्यायाधीशको विषयले पाउँदै पाएन प्रवेश



काठमाडौं, कात्तिक २२ । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।

सबै राजनीतिक दलहरुले २÷२ महिना संयोजन गर्ने सो समन्वय समितिमा कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहनु भएको छ भने नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहनु भएको छ ।

नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी २÷२ जना सदस्यहरुको रहेको र मन्त्रीहरुको तर्फबाट आफू समेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा अनिवार्य रुपमा उपस्थिति हुने सो समितिको पहिलो २ महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत उहाँले बताउनुभयो ।

आसन्न उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनको संयुक्त रुपमा तयारी गर्ने निर्णय पनि सत्तारुढ गठबन्धनले गरेको छ ।

बैठकमा प्रधानन्याधीशको विषय प्रवेश नै नगरेको बताइएको छ । न्यायालयमा भैरहेको विवादबारे सत्तारुढ दलका नेताहरुले गठबन्धनको बैठकमा छलफल गर्ने बताउँदै आएका थिए ।