
काठमाडौं, साउन १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
दुवैजना नेकपाबाट प्रतिनिधिसभामा निर्वाचित (मोरङ–३ र स्याङ्जा–२) हुन् ।
यसैगरी, राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
अब मन्त्रिपरिषदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री (प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित)र तीन राज्यमन्त्री भएका छन् ।
मन्त्रिमन्डलमा नेकपा र संघीय समाजवादी फोरम नेपाल सहभागी छन् । जसमा चारजना महिला छन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसदका सभामुख कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, मुख्यसचिवलगायत उच्चपदस्थ अधिकृतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वि.सं. २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद गत वर्ष फागुन १४ र चैत २ तथा यस वर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौंपटकको विस्तार हो । रासस
प्रतिक्रिया दिनुहोस्