Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


गगन थापा ओलीको जवाफ, ‘एमाले सिध्याउने रे भ्याकुम क्लिनरले, सिंगै कांग्रेस कहाँ गयो ?’

‘पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि हामीले गणतन्त्रको अभियान थालेका थियौं’

0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताउनुभएको छ ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गर्नुभयो । थापाले केही दिनअघि भक्तपुरको एक कार्यक्रममा आगामी चुनावमा भक्तपुरबाट एमोललाई क्लिन स्वीप गर्ने बताउनुभएको थियो । सोही प्रसङ्गको उत्तर दिँदै अध्यक्ष ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुर तिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ?’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।

दाहालले सत्र हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको स्मरण गराउँदै नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र, विकास क्षेत्र बनाउने बताउनुभयो । उहाँले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरूलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताउनुभयो ।

अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष दाहालले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै दाहालले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफूले अभियान थालेको दाबी गर्नुभयो ।