पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्दै सातदोबाटो युथ क्लब « Image Khabar


पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्दै सातदोबाटो युथ क्लब

तीन महिने तयारीले राम्रो नतिजा निस्कने विश्वास


काठमाडौं । कात्तिक २९ गतेबाट हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियाेगिताकाे तयारीमा १४ क्लबले जोडदार तयारी गरिरहेका छन् ।

लिगमा सातदोबाटो युथ क्लब नयाँ टोलीको रुपमा प्रतिस्पर्धा गर्दैछ भने अन्य टोलीले पनि खेलाडी सरुवा बजारको भरपुर सदुपयोग गर्दै लिगको उपाधि लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेका छन् ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघले गत साता टाईसिट पनि सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत पहिलो खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् । बढुवा भएको टोलीलाई अनुभवी प्रशिक्षक मेघराज केसीले सम्हाल्दै छन् ।

टोलीको टिमवर्क राम्रो भएको भन्दै आसन्न लिगमा राम्रो प्रदर्शन गर्ने प्रशिक्षक केसीको विश्वास छ । सातदोबाटो युथ क्लबका खेलाडी मनबहादुर तामाङले पनि लिगका लागि भनेर टोलीले तीन महिनादेखि तयारी गरिरहेकाले राम्रो फुटबल खेल्ने बताए । टोलीमा केही अनुभवी र नयाँ खेलाडीको समिश्रण छ ।

त्यसो त सातदोबाटो युथ क्लबमा बी डिभिजन लिगबाट बढुवा भएको छुट्टै जोस छ । २६ वर्षे इतिहासमा पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो सम्मानजनक प्रतिस्पर्धा गरेर ‘ए’ डिभिजन लिगमा बलियो टोली सावित गर्ने लक्ष्यमा छ । तर, काठमाडौंबाट इतिहास बोकेको न्युरोड टिम भने खेलाडी भेला पार्नेमा अझै व्यस्त छ ।

केही खेलाडीलाई समावेश गरेर तयारी थालेको टोलीमा केही राष्ट्रिय टोलीका खेलाडी भए पनि अभ्यासमा आइपुगेका छैनन् । लिग आयोजनाको मिति नजिकिँदै गर्दा सबै जसो क्लब तयारीमा व्यस्त छन् । कोरोना महामारीले असर पारे पनि क्लबले जसो तसो लिग खेल्ने योजना बनाएका छन् ।

प्रतियोगिता अन्तिममा लिगको पुच्छारमा रहने दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।