एकै दिन दुई मुख्यमन्त्री परिवर्तन « Image Khabar


एकै दिन दुई मुख्यमन्त्री परिवर्तन



काठमाडौं । प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका थिए । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले बुधबार नै कांग्रेस, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहभागी गराएर पाँच सदस्यीय मन्त्रिपरिषद बिस्तार गरेका छन् ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले भने बिहीबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएको छन् । सुनसरीस्थित राजधानी सहकर्मीका अनुसार एमाले नेता आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमबार नै नवगठित एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री बनाउनेगरी गठबन्धन दलहरूबीच सहमति जुटेको थियो । मंगलबार राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् । कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी ९जसपा०बाट एक जना मन्त्री भएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिलामन्त्री नियुक्त भएका छन् ।

जसपाका नेता जयराम यादव सामाजिक विकासमन्त्री बन्दा कांग्रेसका सचेतकसमेत रहेका केदार कार्कीले आन्तरिक मामिला मन्त्री र कांग्रेसकै नेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

राजधानी