१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


प्रदेश–३ को नाम ‘वाग्मती’ र राजधानी हेटौंडा राख्न सत्तापक्ष र प्रतिपक्ष सहमत


0
Shares

हेटौंडा, पुस २६ । प्रदेश नम्बर–३ को नाम ‘वाग्मती’ र राजधानी हेटौंडा राख्न सत्तापक्ष र प्रतिपक्ष दल सहमत भएका छन् ।

शनिबार प्रदेशसभा सचिवालयमा उनीहरुले संयुक्त प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावको पक्षमा प्रदेश–३ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल रहेका छन् ।

प्रस्तावको समर्थकमा प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ छन् ।

दुईजना सांसद रहेको नेपाल मजदुर किसान पार्टी भने मौन छ ।

काभ्रेको प्रस्ताव

यसैगरी, प्रदेश–३ को राजधानी काभ्रे हुनुपर्छ भन्ने प्रस्तावको प्रस्तावकमा विवेकशील साझा पार्टीका रमेश पौडेल रहेका छन् । समर्थकमा सोही दलका प्रदेशसभा सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य छन् ।

प्रदेशको नामाकरण र राजधानीका सम्बन्धमा प्रदेशसभा सचिवालयमा दुईओटा प्रस्ताव दर्ता गरिएका हुन् ।

शनिबारको प्रदेशसभा बैठकमा ती प्रस्तावका सम्बन्धमा छलफल हुने र आइतबारको बैठकले नाम र राजधानी टुंगो लगाउने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि, शुक्रबार बसेको प्रदेश–३ नेकपा संसदीय दलको बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडामा राख्नुपर्ने प्रस्ताव पारित गरेको थियो ।