२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


२१ मध्ये १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए कृषिमन्त्री


0
Shares

काठमाडौं । कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद भने किसानप्रति गैरजिम्मेवार देखिएका छन् ।

धानबालीमै भएको क्षतिबारे छलफल गर्न आइतबार ११ बजे समितिको बैठक डाकिएको थियो । छलफलका लागि आमन्त्रित कृषिमन्त्री महिन्द्र राय यादव ११ः१० मै उपस्थित भए । मन्त्रालयका सचिव, उपसचिवलगायत कर्मचारी समयमै उपस्थित थिए । तर, २१ सांसदमध्ये १७ अनुपस्थित भएपछि कोरम नपुगेर बैठक नै स्थगित भयो । कृषिमन्त्री यादव ५० मिनेट कुरेर फर्किए ।

बैठकका लागि समिति सभापति पूर्णाकुमारी सुवेदी तथा सदस्यहरू शान्ता चौधरी, दलबहादुर राना र भूपेन्द्र थापा मात्रै उपस्थित थिए । सुवेदी माओवादी र अन्य तीनैजना एमाले सांसद हुन् । तर, एमालेका सात, कांग्रेसका पाँच, माओवादीका चार र लोकतान्त्रिक समाजवादीका एक गरी १७ सांसद बैठकमा आएनन् । आधा घन्टासम्म कुर्दा सांसदहरू नआएपछि सभापति सुवेदीले बैठक नबस्ने घोषणा गरेकी थिइन् । त्यसपछि झन्डै २० मिनेटजति सभापति र मन्त्रीबीच अनौपचारिक कुराकानी भएको थियो ।

नयाँ पत्रिका