बनस्थलीबाट लैनचौरसम्मको त्याे यात्रा… « Image Khabar


बनस्थलीबाट लैनचौरसम्मको त्याे यात्रा…


१२ कार्तिक २०७८, शुक्रबार १५:४१


कृष्णा खनाल
उसो त बनस्थली रत्नपार्क रुटका गाडीहरू त्यति सजिलै पाउन गाह्रो । त्यसमाथि यो रुटका गाडीमा मान्छेको ठेलमठेल र भीडभाड देख्दा गाडी नै चढ्नु नपरे हुन्थ्यो जस्तो लाग्छ ।

अब यति भनेपछि तपाईं भन्नुहोला कि हिँडेर गए भैहाल्यो नि !

कुरा ठिकै पनि हो । तर, हामी जस्ता शहरमा बस्नेहरू यति अल्छि भइएछ कि हिँडेर गन्तव्यमा जाने भन्ने कुरा हामीलाई प्रलय नै लाग्छ । चाहे त्यो दश-पन्ध्र मिनेटको बाटो नै किन नहोस् ।

गाँउतिर हो भने घण्टौं हिडेर आफ्नो दैनिक काममा जानेहरू कैयौं छन् । घण्टौं भिर, पाखा, खोला पन्छाउँदै साना नानीबाबुहरू हरेक दिन स्कुल जाने गरेकै छन् । म आफैं पनि गाउँ हुँदा डेढ घण्टाको बाटो हिँडेर ११-१२ पढेकै हुँ ।

अब दुईचार वर्ष शहर के बसियो हिड्ने भन्ने कुरा चटक्कै बिर्सिएछ क्यार ।

सायद सु:ख सुविधाका भोगी पनि केहि बढि नै भयौं हामी । हामीलाई दश मिनेट हिड्न गाह्रो लाग्छ । छोटो दूरीमा पनि हामी गाडी कुर्छौं । आखिर यी कुदेका गाडी के का लागि भनेर पनि होला ।

बनस्थलीबाट लैनचौरसम्म पुग्नुपर्ने म, बनस्थली चोकमा गाडीको प्रतिक्षामा थिएँ । लामो प्रतिक्षा त भन्दिन करिब १० मिनेटपछि बालाजु यातायात बनस्थली चोकसम्म आइपुग्यो। 

म जस्ता कैयौं यात्रु बनस्थलीबाट गाडी चढ्न लामबद्द थिए । एक त आफैंमा भरिएको  गाडी त्यसमाथि  गाडी चढ्ने यात्रुको अर्को लर्को ,के गर्नु सबै म जस्तै अल्छि न परे । हिड्न भनेपछि फिटिक्कै मन नगर्ने । भनिहालेँ नि सुविधाभोगी ।

गाडीमा एउटा पनि सिट खाली थिएन । यसो हेर्छु त्यहाँ भएका आरक्षण सिटमभध्ये महिला सिटमा बाहेक कुनै पनि सिटमा आरक्षणको पालना भएको थिएन ।

जेष्ठ नागरिकको सिट छेवैमा साठी कटेका बुवा माथिका डन्डी समाएर उभिइरहेका थिए  । सिटमा मेरै उमेरका युवतीहरू गफमा मस्त थिए । उनीहरूलाई थाहै थिएन कि छेवैमा एक जना वृद्ध उभिइरहनुभएको  छ ।

यत्तिकैमा एकजना अधबैंशे युवाको आवाज सुनियो जेष्ठ नागरिक सिट हो त्यो, छाडिदिनुस त सिटमा बसेकी युवतीले यसो हेरिन् र सिट छाडिदिइन ।

बुढा बुवा सिटमा बस्न पाएको देखेर मलाई खुसी लाग्यो । तर, मनमा खट्किरहेको कुरा भने छेवैमा बुढा बुवा उभिइरहँदा पनि ति युवतीहरूले देखेनन् या नदेखेजस्तो गरे । आखिर ती आँखाहरूले देखेनन् या मनले देखेन । खैर जे होस् ती युवालाई भने धन्यवाद ।

गाडीमा यात्रा गर्दैगर्दा यस्ता कति दृश्यहरू देख्न पाइन्छन जसले सोच्न बाध्य गराउँछ । गाडी ठेलमठेल थियो त्यै पनि सहचालक कराउँदै थिए, ‘ए जमल, रत्नपार्क, आरएनएसी ।’

अफिसटाइम भएर होला मान्छेहरू चढ्ने ओर्लिने क्रम बाक्लै थियो । सहचालक भने उभिएका यात्रुहरूलाई कराउँदै थिए पछाडि सर्नुस पछाडि । यात्रुहरू भने न पछाडि सर्न सक्छन् न त सहचालकलाई जवाफ दिन छाड्छन् ।

ठमेल पुग्दैगर्दा एकजना महिलाले सहचालकलाई १५ रुपैयाँ भाडा दिइन् । सहचालक १५ रुपैयाँ लिँदै भन्छन्, ‘पाँच रुपैँया दिनुस् ।’

महिला भन्छिन्- ‘१५ रुपैयाँ हैन र ?’

सहचालक थप्छन्, ‘भाडा बढिसक्यो आन्टी ।’

महिला केही नबोली पाँच रुपैयाँ बुझाएर आफ्नो बाटो लाग्छिन् ।

मिडियामा काम गर्ने भएकाले म जानकार थिएँ कि बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडा वृद्धि गरेको छ ।

जसअनुसार ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ, १० किलोमिटरसम्मको २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३५ रुपैयाँ पर्न आउँछ ।

तर, यहाँ कति किलोमिटर यात्रा गर्दा कति पैसा भन्ने कुरामा त्यति चासो देखिँदैन । सहचालकले जति पैसा माग्यो उति नै दियो बाटो लाग्यो ।  रुटको दुरी पाँच किलोमिटर भए पनि सहचालकले हरेकसँग २० रुपैयाँ भाडा उठाउँदै आएका छन् ।

अब यात्रुको कमजोरी हो या यसबारे यात्रु अनविज्ञ छन् ? खैर जे होस् यात्रुहरू दुई चार रुपैयाँले हरेक दिन ठगिएकै छन् । यो यात्रुका लागि  निकै सानो रकम हो भने गाडीवालाका लागि ठूलो रकम हुन आउँछ र लेखाजोखा कतै पनि हुँदैन ।

लैनचौर ओर्लिनुपर्ने म पिपलबोट आउँदै गर्दा गाडीको ढोकानिरै थिए एकजना लगभग ३० वर्षे युवा । जसले सहचालकलाई २० रुपैयाँ दिए र २ रुपैयाँ फिर्ता पैसा मागे । ‘के को फिर्ता पैसा ?’ भन्दै सहचालक कड्किए । ती युवा यसबारे जानकार नै रहेछन् क्यारे ।

उनले जवाफ फर्काउँदै भने, ‘तिमी बेबकुफ देख्छौ सबैलाई, भाडा कति हो पहिले बुझेर आउ, मेरो दुई रुपैयाँ फिर्ता देउ ।’

सहचालक कड्किएर भन्छन्, ‘बढेको भाडा २० रुपैयाँ हो सबैलाई थाहा छ, हामी २० रुपैयाँ लिँदै आएका छौं ।’

तर, भाडादर थाहा पाएका युवा के उत्तिकै जान्थे । उनले सबैसँग २० रुपैयाँ भाडा उठाउँदै आएको अवलोकन गर्दै आएका रहेछन् । युवा सहचालकलाई बढेको भाडाको पाठ पढाउन थाले । माहोल गरमागरम भएपछि गाडीसमेत केही बेर रोकियो ।

अघिसम्म चुपचाप यात्रु अब भने कराउन थाले । कोही दुई रुपैयाँमा कचकच गरेको भन्दै युवालाई गाली गर्दै थिए भने केहीले भाडा १८ रुपैयाँ नै भए पनि सार्वजनिक सवारीले मनमर्जी चलेको भन्दै युवाको साथमा थिए ।

फरक मान्छेका फरक विचार, फरक कुरा ।

ती युवा सही थिए या गलत, जसले आफ्नो फिर्ता पैसा मागे तर खुद्रा पैसा बोकेनन् । या ती सहचालक जो जानकार हुँदाहुँदै पनि अन्जान बनिरहेका थिए या उनलाई यसबारे थाहै थिएन ।

अन्तत: आफ्नो हकको फिर्ता पैसा मागिरहेका युवाले न त पैसा फिर्ता पाए, न त  सहचालकलाई बुझाउन नै सके । उल्टो अरू यात्रु, ड्राइभर र सहचालकको दुईचार नमिठो शब्द सुन्दै आफ्नो बाटो लागे ।

उपत्यकामा हरेक दिन हरेक समय दोहोरिने दृश्य हुन् यी । तर, अपसोच यहाँ न त नागरिक सचेत छन्, न त सम्बन्धित निकाय । अनुगमन र कारबाही प्रक्रिया त झन् शून्य छ ।

यातायात व्यवसायीहरूको लामो संघर्षपछि सरकारले भाडामा समायोजन त गर्‍यो । तर, त्यसपछि आउनसक्ने यस्ता कतिपय कुराहरू जो नागरिकको अहितमा छ । त्यस्ता कुरामा भने बेवास्ता गरिएको छ ।

त्यसमाथि राष्ट्र बैङ्कले खुद्रा पैसाको निष्कासनमा कमी गर्दा एकातिर बजारमा खुद्रा पैसाको अभाव त छ नै, अर्कोतिर सरकारले समायोजन गरेको सार्वजनिक सवारीको अमिल्दो भाडादरले यात्रु मर्कामा परेका छन् ।