
काठमाडौं । अमेरिका र इरानबीच देखिएको द्वन्द्व तत्कालका लागि केही मत्थर हुने देखिएको छ ।
अमेरिकी जनताको नाममा सम्बोधन गर्र्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफु तयार रहेको संकेत गरेपछि दुई देशबीचको जारी तनाव कम हुने आँकलन गरिएको हो ।
इराकस्थित अमेरिकी सुरक्षा बेस क्याम्पमा इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले थप आक्रमणको घोषणा गर्ने पूर्वानुमान गरिएको थियो ।
सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफु राष्ट्रपति रहेसम्म कुनै पनि हालतमा इरानलाई आणविक हतियारको विकास गर्न नदिने भन्दै इरानमाथि थप आर्थिक प्रतिबन्धको घोषणा गरेका छन् ।
इरानले गरेको आक्रमणमा अमेरिकाका कुनै पनि सैनिक हताहत नभएको उनको भनाइ थियो ।
राष्ट्रपति ट्रम्पले चाहेको खण्डमा इरानलाई समाप्त गर्ने हतियार आफुहरुसँग रहेपनि त्यसलाई उपयोग गर्न नचाहेको उल्लेख गरे ।
राष्ट्रपति ट्रम्पले अमेरिकी सेना जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको भन्दै इरान पछि हटेको जस्तो देखिएको जुन सबै पक्ष र पुरै विश्वका लागि राम्रो हो भने ।
शान्ति चाहनेहरुसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार रहेको उनको भनाइ थियो ।
इरानी सैन्य कमाण्डर कासिम सुलेमानी हत्यालाई बैध ठहर्याउन पनि राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा कोशिस गरे ।
उनले सुलेमानीलाई विश्वकै आतंककारी भन्दै उनले आतंककारी सेनालाई तालिम दिने र युद्वमा पठाउने गरेको जिकिर गरे ।
हमलालगत्तै इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले सैनिक कमान्डर सुलेमानीको हत्याको बदलामा इरानबाट जवाफी कारबाही सकिएको बताएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्