२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्थानीय तहमा अनियमितताको चाङः पारदर्शी हुन डराउँछन् स्थानीय तह


0
Shares

काठमाडौं । धनुषाको सबैला नगरपालिकाको मुल गेटअगाडि स्थानीय अनशन बसेको दुई साता भयो। निवेदन दिँदा पनि सूचना उपलब्ध नगराएपछि धनुषाको सबैला नगरपालिकामा भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका साताजना पदाधिकारी अनशन बसेका छन्।

गत जेठ २३ मा समितिले नौवटा शीर्षकमा सूचना उपलब्ध गराइदिनका लागि नगरपालिकामा निवेदन दर्ता गराएको थियो। तर हालसम्म एउटै शीर्षकमा सूचना उपलब्ध नगराएको समितिका संयोजक सुरेशकुमार यादवले बताए। उनले भने, ‘भ्रष्टाचार लुकाउन सूचना दिन नमानेको हाम्रो शंका छ।’

चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावबज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, कोभिड–१९ रोकथाम तथा क्वारेन्टाइन सञ्चालनसहितको खर्चलगायतका विवरण नगरपालिकासँग माग गरेको समिति संयोजक यादवले जानकारी दिए।
नगरपालिकाले विभिन्न शीर्षकमा गरेको अनियमितताको छानबिन गर्न समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गराएको छ। तर अख्तियारले पनि छानबिन अगाडि बढाएको छैन। अख्तियारले नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा तत्कालै छानबिन अगाडि बढाए भ्रष्टाचारको चाङ फेला पर्ने यादवको भनाइ छ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका जीवन अधिकारीले यस गाउँपालिकाको कार्यालयमा सूचनाका लागि निवेदन दर्ता गराएको दुई वर्ष बितिसक्यो। तर उनले गाउँपालिकाबाट अझै सूचना पाउन सकेका छैनन्।

०७६ भदौ १० गते अधिकारीले यस गाउँपालिकास्थित माध्यमिक विद्यालय महेशवारीमा निकासा भएको रकमको पूर्ण विवरणका लागि निवेदन दर्ता गराएका थिए। तर हालसम्म सूचना उपलब्ध नगराइएको अधिकारीको भनाइ छ।

सर्वसाधारण मात्र होइन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पत्राचार गरेर कोभिड व्यवस्थापनमा भएको खर्चको पूर्ण विवरण उपलब्ध गराउन भन्दासमेत सखुवानन्कारकट्टी गाउँपालिकाले उपलब्ध गराएनन्। एकमुष्ट एक करोड ३७ लाख खर्च देखाएर विवरण लुकायो।

नागरिक