Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु


0
Shares

काठमाडौं । मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्।

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।

डोटी संवाददाताका अनुसार अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा घर भत्किँदा आठजनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका–४, सयगडामा मंगलबार दिउँसो दुई घर भत्किँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सयगडामा ४२ वर्षीय शेरबहादुर विकको घर भत्किँदा उनी, उनका १८ वर्षका छोरा मोहन, १२ वर्षकी छोरी पवित्राको मृत्यु भएको छ। मामाघर आएका १६ वर्षका रविन विकको पनि घरले च्याँपेर मृत्यु भएको छ। घटनाबारे पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए।

यसैगरी, सोही ठाउँमा पहिरोले घर पुर्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी पत्नी घाइते भएकी छन्। त्यस्तै, मंगलबार दिउँसो पहिरोसँगै आएको ढुंगाले लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा दिपायलस्थित सुजंग अस्पतालमा मृत्यु भएको हो ।

नागरिक