मुगु दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन « Image Khabar


मुगु दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन


Border circle
Imagekhabar

काठमाडौं, असोज २८ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य रहेका छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस जुम्ला–मुुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्