Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


दक्षिण कोरियामा तलब बढ्यो, झण्डै ३५ हजार नेपाली लाभान्वित


0
Shares

काठमाडौं । दक्षिण कोरियामा नयाँ वर्ष सुरु भएसँगै सन् २०२० का लागि कामदारको न्यूनतम तलब वृद्धि भएको छ ।

गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) पुगेको छ ।

कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन (झन्डै १ लाख ७५ हजार नेपाली रुपैयाँ) हुनेछ ।

साथै दिनमा ८ घन्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघन्टा १२ हजार ८सय ८५ वनका दरले ज्याला पाउनेछन् ।

त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्त रात्रि भत्तासहित प्रतिघन्टा १७ हजार १ सय ८० वन प्राप्त गर्नेछन् ।

गत जुलाईमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच भएको छलफलपश्चात २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो ।

तलब बढेसँगै दक्षिण कोरियामा रहेका झण्डै ३५ हजार नेपाली नागरिकसँगै कोरियन र अन्य देशका कामदार प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । -कान्तिपुर दैनिकबाट