
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । बुधबार प्रदेश सभामा उपस्थित एक सय सांसदमध्ये ७७ जनाले मुख्यमन्त्री राउतको पक्षमा मत दिए । २३ सांसदले विपक्षमा मत हाले ।
राउतलाई जनता समाजवादी (जसपा), कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले विश्वासको मत दिएका हुन् । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १५ र एमालेका आठ गरी २३ सांसदले विपक्षमा मत हाले । लोसपा सांसद डा. डिम्पल झा अस्वस्थ भएका कारण प्रदेश सभा बैठकमा सहभागी भइनन् ।
सभामुख सरोजकुमार यादवले प्रदेश सभामा उपस्थित सांसदहरूलाई लिखित रूपमा मुख्यमन्त्रीको पक्ष वा विपक्ष मत जाहेर गर्न रुलिङ गरेका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार सत्तारुढ दल विभाजन भएकामा वा सत्ता साझेदार दलहरूमध्ये कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने उल्लेख छ । सोही संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएको प्रदेश सभाका सचिव रञ्जित यादवले बताए ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिनुअघि प्रमुख प्रतिपक्षी दल लोसपाका सांसदहरूको नाराबाजीका कारण प्रदेश २ सभाको बैठक १० मिनेट अवरुद्ध भएको थियो । साइकल खरिदमा अनियमितता भएकाले र अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले मुख्यमन्त्री राउतले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गर्दै लोसपाले नाराबाजी गरेपछि सभामुख यादवले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
पछि सभामुख यादवले साइकल खरिद सम्बन्धमा संवैधानिक स्वतन्त्र निकायले छानबिन गरिरहेकाले त्यसमा प्रदेश सभाले केही गर्न नसक्ने र मुख्यमन्त्रीले विश्वासको मत लिन पाउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले रोक्न नसक्ने भन्दै विपक्षी दलहरूलाई सुझाएपछि बल्ल सदन सञ्चालन भएको थियो । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्