कम्युनिष्टहरुकाे राजा मोहको अन्तर्निहित उद्देश्य के हो ? « Image Khabar


कम्युनिष्टहरुकाे राजा मोहको अन्तर्निहित उद्देश्य के हो ?



संजिव कार्की

केही समय अघि प्रचन्डले अहिलेको रास्ट्रपतिको भन्दा पहिलेको राजाको शान र मानको चर्चा गर्दै रास्ट्रपतिको सामाजिक भ्यालु नभएको र भएको पनि घटेको संकेत गर्दै बरु राजा नै ठिक भने जस्तो भावभंगीमा राष्ट्रपतिको खिल्ली उडाएका थिए । यसबाट थाहा लाग्छ प्रचण्ड रास्ट्रपतिबाट सन्तुस्ट छैनन् । राष्ट्रपतिबाट असन्तुस्ट हुनु र राजाको प्रशंशा गर्नु यी दुई नितान्त फरक कुरा हुन् । व्यक्ति खराब हुनसक्छ तर व्यक्तिको खराबीको कारण व्यवस्था र राष्ट्रपति संस्था नै खराव देख्नुको मतलव घुमाउरो तवरले राजा नै सही र मान सम्मान भएको संस्थाको रुपमा राजतन्त्र नै भएको भए ठिक भनेर यसको अपरिहार्यता स्वीकार गरेको बुझिन्छ ।

क्रान्तिकारी, पुराना कम्युनिस्ट नेता, सत्ताको लोभ नभएका व्यक्ति र मार्क्सवादी सौन्दर्यशास्त्रका व्याख्याताको रुपमा परिचय बनाएका मोहन वैद्य किरणले पनि राजालाई मान्न सकिने र राजा सुध्रिएर आउनु पर्ने कुरा बताएर राजासँग सहकार्य गर्न सकिने कुराले राजतन्त्रको पुनर्स्थापना कम्युनिष्ट नेताको अभिस्टको रुपमा देखिएको कुरा छर्लंग भएको छ । अर्का कम्युनिस्ट नेता नारायणमान बिजुक्छेले पनि राष्ट्र संकटमा भएको बेला राजासँग सहकार्य गरेर जानुपर्ने कुरामा जोड दिएको कुरा बाहिरिएको छ l नेपालको सबभन्दा ठुलो कम्युनिस्ट पार्टी नेकपा एमालेका नेता ओली राजासँग पहिले नै नरम भएको कुरा जग जाहेर नै छ । गणतन्त्र ल्याउने कुरामा ओली पहिले नै उदासीन रहेको कारण अब पनि राजा फर्काउने कुरामा उनको असहमति हुँदैन होला भन्न सकिन्छ । ओली बारे पूर्वराजावादीहरु हिजो पनि अनेकन हल्ला चलाएर ओलीको पक्षमा उभिएका देखिन्छ्न । कम्युनिष्ट पार्टीका नेताहरुलाई किन राजतन्त्र ल्याउने आवश्यकता पर्यो ? राष्ट्र कुन संकटमा पुग्यो र राजाको अनिवार्यता पर्यो ? राजसंस्था बिदाई गरेको १४ वर्ष पुग्नै लाग्दा किन गणतान्त्रिक व्यवस्थाप्रति अरुचि पैदा भयो ? यो अरुचि जनताको तहले अनुभूत गरेको हो या कम्युनिष्ट पार्टीका नेताहरुको सत्ता कब्जा गर्ने रणनीतिक चालको एउटा तुरुप, यो गहन विवेच्य र विश्लेषण गर्ने विषय हो ?

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य र संकल्प नै सामन्तवादी राजतन्त्रको अन्त्य थियो । राजतन्त्रको उन्मुलनलाई आफ्नो उदेश्य बनाएर जनवादी गणतन्त्र स्थापनाको लक्ष्य बोकेका कम्युनिस्टको मुखबाट राजासँगको एकता राजतन्त्र स्थापनाको घुमाउरो तर्क गरिदैछ ? अब गणतन्त्र मुलुकले धान्न नसक्ने र अफाप सिद्द नै भएको हो त ? रास्ट्रिय संकटको मापन के हो ? गृह युद्द, धार्मिक द्वन्द, सामाजिक अराजकता, बाह्य आक्रमण या रास्ट्र टाट पल्टेर या किन संकट देखियो या संकट उन्मुख परिस्थति बन्यो ? यसको गम्भीर विश्लेषण बिना राजाको आवश्यकताको तर्क कति सान्दर्भिक व्यवस्थित र अनुकुल हो ? सम्बन्धित विचारक र अभिव्यक्तिका जिब्रोले प्रष्ट पार्ला नै ? राजतन्त्र नै अपरिहार्य थियो भने यसको अन्त्यको लागि किन आन्दोलन गरियो र हजारौ हजार मान्छेको मृत्युको कारण बन्यो गणतन्त्र प्राप्तिको आन्दोलन ? गणतन्त्र ल्याउने क्रममा, आन्दोलनको दर्वियानामा हजारौ घाइते अङ्ग भंग र क्षत विक्षत भविष्य लिएर मर्दै बाँचेकालाई दिने जबाफ को सँग छ ? गणतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा सहादत प्राप्त मान्छे र तिनका परिवारलाई कम्युनिस्ट नेताकार्यकर्ताले दिने जबाफ के हो ? राजतन्त्र मिल्काउन र गणतन्त्र  स्थापनार्थ मृत्यु कि मुक्ति भनेर नथाक्ने कम्युनिस्टहर आज राजतन्त्र बहालीको नारा लगाउनु र शृंखलाबद्ध रुपमा कम्युनिस्ट नेताहरुको राजतन्त्रप्रति सकारत्मक विचार आउनु निश्चय नै संयोग मात्र होइन / हुन् सक्तैन ।

कम्युनिस्टहरु राजाको पक्षमा खुल्दै र समर्थन गर्दै जाँदा कांग्रेस पनि आफ्नो सैद्धान्तिक विरासत संबैधानिक राजतन्त्रको पक्षमा फर्कन गाह्रो नमान्ला ? यसै पनि कम्युनिष्टकाे लहै लहैमा लागेर र बिदेशीको इशारामा राजा फ्याँकेको दोष कांग्रेसको टाउकामा पनि छ । राजा फ्याक्ने निर्णायक भूमिका कांग्रेसको नै थियो । कांग्रेसका गिरिजा प्रसादले राजालाई बोक्ने रहर गरेका भए २०६४मा राजा विस्थापित बन्ने थिएनन् । राजतन्त्र फाल्नुमा कांग्रेसजनले रिग्रेट गर्न थालेको र जनमासको पनि असन्तुष्टि बढ्दै गएको कारण कांग्रेसलाई राजतन्त्रको पक्षमा मत बनाउन गाह्रो छैन l तर जसरी कम्युनिस्ट नेताबाट राजाको महत्व र आवश्कतालाई प्राथमिकतामा राखिएको सुनिन्छ यो अस्वाभाविक र सोचनीय पक्ष हो । साम्यवादीहरु मार्क्सवादी, लेनिनवादी र माओवादीको राजतन्त्र प्रतिको सम्मोहन उदेकलाग्दो विषय हो । रहस्यमय र षडयन्त्र दुवै एंगलबाट यसलाई लिन सकिन्छ । रहस्यमय किन पनि भने राजतन्त्रको औचित्य र उपादेयतामा कम्युनिस्टहरु पुग्नुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हो ?

कुनै पनि राजनीतिक महत्वको विषयमा राष्ट्रिय र अन्तराष्ट्रिय कारण र अवस्थाहरु हुन्छन् l कुनै पनि घटनाको अघि पछि बन्ने र भत्किने परिस्थितिको निर्माण र विनिर्माणको वातावरण तयार हुन्छ । परिस्थितको परिपक्वता वा अपरिपक्व स्थिति दुवैको संकेत सामान्य अवस्थामा पाउन र बुझ्न मुश्किल हुन्छ । जीवनभर गणतन्त्रको लागि लड्ने र लडाउने कम्युनिस्टहरू पिण्ड खाने बेलामा राजासँग मिल्ने कुराले अर्थ होइन अनर्थ बताउँछ । यधपि देसको लागि राजासँग मिल्नु नराम्रो हुदै होइन तर कतिबेला मिल्ने र किन मिल्नुपर्ने स्थिति आयो त्यसको लेखाजोखा अवश्य गर्नुपर्छ । देश कोल्याप्स बन्ने खतरा रह्यो र राजा हुँदा यो बच्छ भने राजासँग मिल्नु राजालाई पुनर्स्थापना गर्नु अन्यथा हुन् सक्दैन ।

२०६३/ ०६४ तिर बाबुराम भट्टराईले राजा ज्ञानेन्द्र कम्बोडियाको राजा नरोद्दम सिंहानुक बन्छन भने हामी त्यस्तो राजतन्त्र स्वीकार गर्छौं भनेकै हुन् जसलाई तत्कालिन राजा ज्ञानेन्द्रको उपेक्षाको कारण मूर्तता दिन नसकिएको यथार्थ राजनीतिमा थोरै पनि दिलचस्पी राख्ने सबैलाई कण्ठ छ । के अब राजा र कम्युनिष्ट दुवै आ-आफ्नो पूर्ववत अडान त्यागेर देश भक्तिको मिलन बिन्दुमा मिल्न तयार भएका हुन् ? आ-आफ्ना कमजोरी र देश प्रतिका गद्दारी भुलेर राजा र कम्युनिस्टको मिलन केवल देशभक्ति मात्र हो ? आफ्नो जिनमा कहिल्यै राजतन्त्र नबोकेको कम्युनिस्ट विचारधारा र राजतन्त्र र दुई विपरित धारा र दर्शनको रुपमा परिचित भएर विश्वमा अस्तित्वमा छन् तर यी दुईको मिलन त्यो पनि नेपालका क्रान्तिकारी कम्युनिस्ट नेताहरुको चाहना देख्दा कति बुझ्ने र के बुझ्ने अप्ठ्यारो पक्कै छ ।

राजनीतिको सरल रेखा र सरल बुझाइमा किमार्थ यो बुझ्ने विषय हुदैन । यसलाई बुझ्न राजनीतिका जटिल भन्दा जटिल पक्षमा ध्यान केन्द्रित गर्नु जरुरि छ । प्रजातान्त्रिक र लोकतान्त्रिक गणतन्त्रका पहरेदार नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेले भने झैं नेपालको लोकतान्त्रिक गणतन्त्र नेताले बिचौलिया दलाल राख्ने बजार बनाएकै कारण असफल बनेको हो त ? गणतन्त्र असफल आफैले पारेको र हाम्रो माटो सुहाउँदो यो व्यवस्था नभएको अभिव्यक्ति पनि कम्युनिस्ट नेताबाट अब छिटै सुनिन्छ कि ? समीक्षा आत्माआलोचना पश्चताप के के आउने हुन् त्यो हेर्न हतार छ । कम्युनिस्टहरु राज्य संचालन गर्न आजको बिधि प्रक्रिया र प्रणालीमा सम्भव नहुने निस्कर्ष निकालेर नै राजा सहितको प्रजातान्त्रिक अभ्यास वा राजालाई सम्पूर्ण अधिकार सुम्पेर उनको निरंकुशता स्वीकार गर्न तयार भएका हुन् ? भन्नलाई प्रजातान्त्रिक सुधारिएको र नयाँ विश्वलाई प्रतिनिधित्व गर्ने राजा आधुनिक राजा भने पनि कम्युनिस्टहरुको अन्तर्निहित आशय र उद्देश्य के हो त्यो प्रस्ट हुनु अत्यावश्यक हुन्छ l अनि मात्र जनताले मत अभिमत गर्ने अवसर रोज्नेछन् । राष्ट्रिय स्वाधिनता जगाउन र जोगाउन कम्युनिस्ट क्रान्तिकारीहरुलाई राजाकै साथ र हात चाहिएको हो र ? राजावादी सहकार्य गर्न आएमा पूर्वाग्रह राखिदैन भन्ने मोहन कमरेडको भनाइको लक्षणा,अभिधा, व्यन्जना बुझ्न अब पनि राजनीतिक विश्लेषकले आनाकानी गर्नुपर्ने स्थिति छैन । कम्युनिष्ट नेताहरुको यी प्रतिनिधि भनाइ बारे पब्लिक डिस्कोर्स आजको पहिलो आवश्कता हो l लोकतान्त्रिक बिधि र प्रणालीमा कुनै पनि विचार र बहसमा कसैलाई पनि बन्देज र निषेध नहुनु नै यो व्यवस्थाको सौन्दर्य रहेको छ ।