काठमाडौं । नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ ।
प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरुपयोगसम्बन्धी कसुरमा कारबाही गरी निष्कासन गर्ने तयारी भएको हो ।
नेपालसँग सुपुर्दगी सन्धि नभएका मुलुकका नागरिक पक्राउ पर्दा यसरी गृह मन्त्रालयमार्फत निर्णय गराएर उनीहरूलाई स्वदेश पठाइने गरिएको छ ।
यस्तै, अपराधमा संलग्न आफ्ना नागरिक विदेशी भूमिमा पक्राउ पर्दासमेत सो देशसँग सन्धि नभएको खण्डमा यसैगरी नेपाल ल्याइने गरिएको छ ।
७ पुसमा राजधानीका नौ वटा घरबाट नेपाल बसेर चीनमा आर्थिक अपराधका घटनामा संलग्न रहेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूले नेपाल बसेर इन्टरनेटमार्फत चीनमा अर्थतन्त्र धराशायी बनाउने गरी गतिविधि गरेको, इन्टरनेटमार्फत जुवा खेलाएको र इन्टरनेटबाट नै यौनजन्य अश्लिल गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
अध्यायमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले प्रहरीतर्फको अनुसन्धान सकिएपछि चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरूमाथि अध्यागमन कानुन दुरुपयोग गरेको कसुरमा कारबाही प्रक्रियाअघि बढ्ने जानकारी दिए ।
अध्यागमन विभागले प्रहरीतर्फको अनुसन्धान सकिएपछि पक्राउ परेकाहरूसँग पासपोर्ट भए नभएको हेर्ने, नभएकाहरूको अन्य डकुमेन्ट खोज्ने र अन्य कुनै डकुमेन्टसमेत फेला नपरे चिनियाँ दूतावाससँगको समन्वयमा आंैठा छापको बायोमेट्रिक प्रणालीमार्फत उनीहरूको ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरिने जनाएको हो ।
यसरी निष्कासन गर्ने आफ्ना नागरिकलाई लिन चीनले दुईवटा चार्टर विमान पठाउने तयारी गरेको छ । अभद्र व्यवहारको मुद्दाको अनुसन्धान सकिएपछि मात्रै विमान कहिले आउने भन्ने टुंगो लाग्नेछ । -राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्