बैशाखसम्म सबै नागरिकलाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ « Image Khabar


बैशाखसम्म सबै नागरिकलाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ


Border circle
Imagekhabar

काठमाडौं, असोज १३ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ ।

राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिनुभयो ।

विश्व मुटु दिवसको अवसरमा बुधबार ललितपुरमा भएको कार्यक्रममा उहाँले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताउनुभयो । वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उहाँको भनाई छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताउनुभयो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गर्नु भयो । उहाँले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साँढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी दिनुभयो । उहाँले साइकल चढेर नागरिकहरुले शारिरीक व्यायाम गरुन भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साइकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्