
नवीनराज कुइँकेल (इमेज)
लमजुङ, साउन १७ । लमजुङको बेसीसहर नगरपालिका–६, बेलौतीबिसौनानजिकै उतिसघारी, खरखरेमा पहिरो जाँदा बेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
बुधबार राति र बिहीबार बिहानको पहिरोले हिमाली जिल्ला मनाङ जाने एकमात्र सडक अवरुद्ध बनेको हो ।
ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ ।
प्रहरी नायव उपरीक्षक यादव ढकालकाअनुसार गत वर्षको पहिरोपछि राखिएका ग्याबिन बगेर सडक भासिएको छ । करिब १०० मिटरमाथिबाट उत्तिसका बोट र चट्टान झरेर सडक अवरुद्ध बनेको छ ।
पहिरोका कारण मनाङ र उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् ।
सदरमुकाम बेसीसहरबाट तीन किलोमिटरको दूरीमा रहेको उतिसघारी, खरखरेमा हिउँद र बर्खा दुवै समयमा पहिरो खस्ने गरेको स्थानीय बताउँछन् ।
पहिरो पन्छाउने दीर्घकालीन उपाय नअपनाउँदा सधैं सास्ती खेप्नुपरेको लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका सचिव सूर्यप्रकाश कतिलाले बताए ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्चाएपनि सुनुवाइ नभएको बताए ।
पहिरो खुलाउन सडक डिभिजन कार्यालय दमौलीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए ।
पहिरो पन्छाउन प्रहरीसमेत परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्