नवलपरासी कांग्रेसमा संस्थापनइतर गुटको वर्चस्व « Image Khabar


नवलपरासी कांग्रेसमा संस्थापनइतर गुटको वर्चस्व


Border circle
Imagekhabar

हरि शर्मा

परासी, । पश्चिम नवलपरासी कांग्रेसमा महामन्त्री शशांक गुटको वर्चस्व देखिएको छ । १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको गाउँ/नगर अधिवेशनको परिणामले सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाको गुट कमजोर देखिएको छ ।

केन्द्रीय गुटभन्दा पनि जिल्लाका नेताहरुको गुटबीच प्रतिस्पर्धा हुँदै आएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको एक गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवाल (सन्तु)को अर्को संयुक्त गुट छ । पार्टीमा स्व. खुम बहादुर खड्का समूहका कँडेल देउवा गुटका हुन । जयसवाल र खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुन् । नेताअनुसार जिल्लामा कार्यकर्ताहरु विभाजित छन् ।

जिल्लाका ७ स्थानीय तह छन् । आइतबार बिहानसम्म ६ वटा पालिकाको परिणाम आएको छ । परिणामअनुसार २ नगरपालिका र २ गाउँपालिकामा खनाल÷जयसवालको गुटको समुह निर्वाचित भएको छ । २ गाउँपालिकामा कँडेल गुटको समुह निर्वाचित भएको छ ।

खनाल/जयसवाल गुट बिजय भएका पालिकाहरुमा क्रमशः सुनवल नगरपालिकामा सभापतिका उमेदवार सोमबहादुर रायमाझी(पप्पु)ले प्रतिस्पर्धी खेमराज पाण्डेलाई १ सय २७ मतान्तरले हराए । बर्दघाट नगरपालिकामा सभापतिका उमेदवार दामोदर जिसीले प्रतिस्पर्धी शम्भुलाल श्रेष्ठलाई ५८ मतान्तरले हराए । त्यस्तै सुस्ता र प्रतापपुर गाउँपालिकामा भने सर्वसम्मत भई खनाल/जयसवालको गुट आएको छ ।

कँडेल गुट बिजयी भएको सरावल गाउँपालिकामा अध्यक्षका उमेदवार विनोद पाण्डेले प्रतिस्पर्धी इन्द्र बहादुर चौधरीलाई ३६ मतान्तरले हराए । त्यस्तै पाल्हीनन्दन गाउँपालकामा अध्यक्ष हरिहर चौहानले प्रतिस्पर्धी गुड्डु गुप्तालाई ५१ मतले हराए । परिणाम आउन बाँकी रहेको रामग्राम नगरपालिकामा भने साढे ११ बजेदेखि मतदान सुरु छ ।

अधिवेशनका लागि जिल्लामा १३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिहरु चुनिएको निर्वाचत अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो । पालिकाहरुको परिणामअनुसार जिल्ला नेतृत्वमा खनाल/जयसवाल गुटको पकड बलियो देखिएको छ ।

जिल्ला सभापतिमा कँडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र खनाल र जयसवाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई अघि सारेका छन् । यद्यपि सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनु पर्ने प्रावधान रहेकाले दुवै जनाको उमेदवारी चर्चामा मात्र सिमित छ ।

प्रतिक्रिया दिनुहोस्