२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


विराटनगर फाइनलमा, बुटवल २१ रनले पराजित


0
Shares

पोखरा, पुस १०  । विराटनगर टाइटान्स पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको ‘क्वालिफायर’ खेलमा बुटवल ब्लास्टर्समाथि २१ रनको जित हासिल गर्दै विराटनगरले फाइनलमा ठाउँ पक्का गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

सुनिल धमलाले ५४ बलमा सर्वाधिक ६१ रन जोड्दा कप्तान प्रदीपसिंह ऐरीले १३ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित रहँदै ३३ रन बनाए ।

बुटवलका हर्ष टोङ्कले २ विकेट लिए ।

जवाफमा बुटवलले निर्धारित् २० ओभरमा सबै विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।

भुवन सार्कीले ३४ बलमा ४४ तथा अफ्ताबुद्धिन अहमदले २२ बलमा ४३ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

विराटनगरका पुनित मेहरा र शहाब आलमले समान ३/३ विकेट लिए ।

लिग चरणको अन्तिम खेलमा बुटवलमाथि नै सनसनीपूर्ण ४ विकेटको जित निकाल्दै विराटनगरले ‘प्लेअफ’ खेल्ने अवसर पाएको थियो । बुटवल भने दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

उपाधि भिडन्त शनिबार

फाइनल खेल आउँदो शनिबार हुनेछ । उपाधिका लागि सीधै फाइनलमा पुगेको पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र विराटनगर खेल्नेछन् ।

६ टोली सहभागी प्रतियोगिताका लिग चरणका सबै पाँच खेल जितेर चितवन फाइनलमा पुगेको थियो ।