७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


नन्दप्रसादहरुको प्रेतको घेरामा परेको राज्यसत्ता र देउवा–दाहाललाई प्रश्न–अधिकारी दम्पत्तिसहितका पीडितलाई न्याय कहिले ?

सन्दर्भ: नन्दप्रसाद अधिकारी मृत्युको सातौं वार्षिकी

39
Shares

राजन कुईंकेल ।

तत्कालीन माओवादीका उदण्ड कार्यकर्ताबाट मारिएका कान्छो छोरा कृष्णप्रसाद अधिकारीलाई न्याय र हत्या अपराधीलाई कार्वाहीको माग गर्दागर्दै सरकारको नियन्त्रणमा रहेका बेला पिता नन्दप्रसाद अधिकारीको मृत्यु भएको सात वर्ष पूरा भएको छ । देखिँदा मृत्यु भए पनि असलमा त्यो राज्य नियन्त्रित हत्या नै थियो ।

छोराका लागि न्याय माग गर्दै आमरण अनशनमा रहँदा ३३४ औं दिन राज्यले नै कैदसरह वीर अस्पतालमा राखिरहेकै समयमा अधिकारीको मृत्यु भएको थियो । नन्दप्रसादसँगै आमरण अनशनमा रहनुभएका उनकी धर्मपत्नी गंगामाया अधिकारी अझै पनि छोराको हत्यारालाई कार्वाही माग गर्दै वीर अस्पतालमै अनशनरत छिन् ।

नन्दप्रसाद अधिकारी जिवितै हुँदादेखि अधिकारी दम्पत्तिलाई न्याय दिलाइने भन्दै सबैजसो सरकारले झुक्याउँदै आएका थिए । जसको निरन्तरता उहाँको मृत्यु भएको सात वर्षसम्म पनि गंगामाया अधिकारीमाथि भइरहेको छ । दूर्भाग्य त, राज्य कति निर्मम र लाचार छ भने सात वर्षअघि निधन भएका नन्दप्रसाद अधिकारीको आजसम्म सद्गतसम्म गरिएको छैन । बरु एकपछि अर्का सत्ताधारीहरु तिनै नन्दप्रसाद अधिकारीहरुको शव सिरानी हालेर आफ्नो सत्ता यात्रा लम्ब्याइरहेका छन् ।

२०७१ साल असोज ६ गते राज्य नियन्त्रणमा रहेर न्यायको भीख माग्दामाग्दै राज्यसत्ताको छलकपटका बीच मृत्युवरण गरेका नन्दप्रसादको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालस्थित शवगृहको ४ नम्बर बाकसमा छ । अर्थात् घनोघर गणतान्त्रिक, न्याय र विवेकका त्राणदाताहरूले चलाएको राज्यव्यवस्था आफ्ना छोराको हत्यारालाई कार्वाही माग गर्दागर्दै निर्दयी राज्यको निकम्मापनले हत्या ब्यहोर्न विवश तिनै नन्दप्रसाद अधिकारीको शव सिरानी हालेर बरोबर बर्बराउँछ, म यो देशका जनतालाई न्याय र समृद्धि उपहारमा बक्सिस दिन्छु भनेर ।

तर, जबजब असोज ६ को दिन नजिकिन्छ, त्रिवि शिक्षण अस्पतालको परिसरभित्र पुग्छु अनि त्यही न्यायका याचक, संसारकै सबैभन्दा दुःखी बाबु नन्दप्रसादका अनुहार झल्झल्ती अगाडि आउँछ । जसलाई न्यायको उच्चतम सत्ता मानिएको लोतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थाले आफ्नो नियन्त्रणमा राखेर हत्या गर्‍यो । १७ वर्षे छोरा कृष्णप्रसादको हत्यारालाई कार्वाही माग गरेर सत्याग्रहमा रहेकै बेला ३३४ औं दिनमा उनले वीर अस्पतालमा प्राण त्यागेका थिए ।

वीर अस्पतालको चौघेरोभित्र छिर्छु, आफ्नो कलिलो मुना झै छोरोलाई निमोठेर हत्या गर्ने राक्षसहरूलाई दण्ड दिएको हेर्न कुरिबसेकी एक न्यायकी मूर्ति आमा गंगामायाको चित्कार सुन्छु । (आफ्ना हजुरबा, हजुरआमाको घरमा गएका १७ वर्षीय किशोर कृष्णप्रसादलाई माओवादीले सुराकीको आरोपमा २०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेको थियो ।) जो पटक पटक मृत्युको मुखमा पुगेर पनि आफ्नो छोरा जस्तै हजारौं निहत्था दाजुभाइ दिदीबहिनीको न्यायका लागि संघर्षरत छिन् ।

जुन देशको शासनसत्ता सञ्चालनको शीर्षाशनमा रहनेहरूको देह हजारौं निहत्था नागरिकको हत्याबाट रक्तरञ्जित छ, हजारौंलाई वेपत्ता बनाएर आरामको निँदमा लिप्त छ, लाखौं घाइते अपाङ्गलाई मृत्युतुल्य नारकीय जीवन बिताउन बाध्य बनाएकामा किञ्चित ग्लानीबोध छैन, बिचौलिया, माफिया, तस्कर, दलाल, ठेकेदारको रक्षक बनेर अकूत मुद्रा संकलनमा तल्लिन छ, दलीय स्वार्थ र लाभहानीमा राष्ट्र र जनतामाथि जूवा खेल्न रत्तिभर हिच्किचाउँदैन अनि तिनैबाट देशका जनताले न्याय, विवेक र समृद्धि पाउनेछन् भनेर पत्याइदिनुपर्ने ??

नन्दप्रसादजस्ता हजारौं निहत्था नागरिकको शव सिरानीमा हालेर कुभ्भकर्ण निद्रामा लम्पट सत्ताधारी, तिमी ती भुईंमान्छेको सत्य बुझ्ने र न्याय पाउने अधिकारको सम्मान गर्दै तथ्य सार्वजनिक गर्छाैं कि गर्दैनौं ? निर्मला पन्त जस्ता निर्बाेध बालिका, महिला र नारीमाथि भइरहेको बलात्कार र हत्यामा संलग्न पिपासुहरूलाई दण्डको कठघरामा उभ्याउने साहस र क्षमता छ कि छैन ? सत्ता, शक्ति र शासनको आडमा खुलेआम भइरहेको राज्यकोषको ब्रह्मलूट, दादागिरी र दोहन रोक्छौ कि रोक्दैनौं ?

जबसम्म शासकहरू विधि, पद्धति र संविधानले प्रत्याभूत गरेका वैधानिक बाटोबाट हिंड्दैनन् र नागरिकलाई रैती र आफू शासक ठानिरहन्छन्, पीडितलाई न्याय र पीडकलाई शूलीको व्यवस्था गरिन्न, त्यतिबेलासम्म जिउँदा त के मृत बनेका नन्दप्रसादका आत्माहरूले पनि व्यभिचारी शासकहरूमाथि प्रश्नको वर्षा गराइरहनु पर्दछ ।

गठबन्धनका योजनाकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रसरतामा बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकार सत्तामा छ । अधिकारीसहित हजारौं निहत्था नेपाली हत्याको अभियोग दाहालसहितका माओवादी नेता र तत्कालीन सरकारको नेतृत्वकर्ताहरुमाथि छ । मारिएका, वेपत्ता बनाइएका, बलात्कृत भएका, घरबारविहीन बनाइएका, अंगभंग/घाइते बनाइएका लाखौंजनहरु सत्य जान्न चाहिरहेका छन् ।

सत्य जान्ने मात्र होइन, अनाहकमा आफ्ना आफन्त/प्रियजनको हत्या गर्नेहरु कानुनी कठघरामा उभिएको हेर्न चाहन्छन् । अब कुनै बहाना गरेर उम्कने छूट देउवा–दाहाललाई छैन । फेरि पनि कुनै बहानाबाजी स्वीकार्य हुन सक्दैन । अन्यथा, नन्दप्रसादसहितका निहत्था नागरिकको प्रेतले पनि तिमिहरुलाई सुख दिने छैनन्, चेतना भया !