६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नाली सफा नगर्दा बुटवलमा पहिरो, स्थानीयकाे आक्राेश मेयरलाई


0
Shares

प्रदीप आचार्य
बुटवल । बुटवलको ज्योतिनगर माथिको चुरेबाट बग्दै आएको लेदो सहितको पानी नालीमा भरिएपछि बस्तीमा पसेको छ ।

स्थानीयले नाली सफा गर्न एक सात अघिनै स्थानीय सरकारलाई गुनासाे गरेकाे थिए । कल्भट सफा नगरे पहिरो जान सक्ने जोखिम रहेकाे जानकारी गराउँदा पनि सुनुवाइ नभएकाे उनीहरूकाे गुनासाे छ ।

पहिरो गएको लामो समयपछि सोमबार निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीप्रति स्थानीयले आक्रोश पाेखे । पहिरो पीडित युवा गणेश पंगेनीले मेयरलाई मुक्का हान्ने कोशिस गरेका थिए । मुक्का हान्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पहिरोले सडकमा क्षति पुर्‍याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ । अहिले स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले पहिरो क्षेत्रमा उद्धार कार्य जारी राखेका छन् ।

पहिरोग्रस्त घरहरूबाट सर-सामान निकाल्ने काम भइरहेकाे छ । पहिरो पीडितहरूले बस्ती असुरक्षित बनेको र आफूहरू बिचल्लीमा परेको गुनासो गरेका छन् । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हाे ।

बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिङ्गो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन् । ज्योतिनगर मात्रै नभएर चुरेपहाडको फेद क्षेत्रमा रहेका सबै बस्तीहरू जोखिममा पर्ने देखिएको छ ।