४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


विराटनगरको सनसनी, बुटवल ११ ओभर ४ बलमै पराजित


0
Shares

पोखरा, पुस ९ । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको ‘प्लेअफ’मा पुगेको छ ।

बुधबार पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा यसअघि नै प्लेअफमा पुगिसकेको बुटवल ब्लास्टर्समाथि अप्रत्याशित खेल प्रदर्शन गर्दै विराटनगरले प्लेअफमा ठाउँ बनाएको हो ।

१३४ रनको विजयी चुनौती विराटनगरले ११ ओभर ४ बलमा ६ विकेटको क्षतिमा पूरा गर्दै ‘रनरेट’का आधारमा काठमाडौं गोल्डेन वारियर्सलाई पछि पार्दै प्लेअफमा पुगेको हो ।

यो खेलमा प्लेअफमा पुग्न १२ ओभर २ बलभित्रै जित निकाल्नुपर्ने समीकरण बनेकामा अप्रत्याशित खेल खेल्दै विराटनगरले सो चुनौती पूरा गरेको हो ।

पाकिस्तानी खेलाडी नोमन खानले २२ बलमा ३५, भारतीय खेलाडी पुनित मेहराले १७ बलमा ३५, पाकिस्तानी खेलाडी मुहम्मद जैद आलमले १० बलमा २४ तथा पुष्प थापाले ८ बलमा अविजित रहँदै १८ रन बनाए ।

बुटवलका नितेश थापाले २ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन बनाएको थियो ।

भारतीय खेलाडीद्धय हर्ष टोङ्कले ४४ बलमा ६७ तथा शिवम सिंहले २६ बलमा ३७ रन बनाएका थिए ।

विराटनगरका ‘अलराउन्डर’ एवं खेलका ‘म्यान अफ दी म्याच’समेत घोषित मुहम्मदले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए ।

काठमाडौं बाहिरियो

विराटनगरको अप्रत्याशित जितसँगै ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं रनरेटका आधारमा पछाडि पर्दै लिग चरणबाट बाहिरिएको छ ।

एक्सपर्ट धनगढी, काठमाडौं र विराटनगरको समान ४ अंक भएकामा विराटनगर रनरेटमा अगाडि रहँदै प्लेअफमा पुगेको हो ।

बुटवल–विराटनगरबीच ‘क्वालिफायर’

चितवन राइनोज शतप्रतिशत नतिजासहित १० अंकबाट शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ । ६ अंकका साथ दोस्रो स्थानमा रहेर बुटवल प्लेअफमा पुगेको हो ।

अब बिहीबार फाइनल प्रवेशका लागि बुटवल र विराटनगरबीच नै ‘क्वालिफायर’ खेल हुँदैछ ।

सो खेलको विजेताले उपाधिका लागि फाइनलमा शनिबार चितवनसित खेल्नेछ ।