काठमाडौं । पूर्वी एसियाली देशहरूमा धरपकड सुरु भएपछि इन्टरनेटमार्फत ठगी गर्ने चिनियाँ आपराधिक समूह नेपाल छिरेको खुलेको छ ।
सोमबार काठमाडौंमा पक्राउ परेका एक सय २२ मध्ये धेरैजसो विगतमा फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसियालगायत देशमा बसेर यस्तो किसिमको अपराधमा संलग्न व्यक्तिहरू भएको प्रहरीले जनाएको छ ।
चिनियाँ सरकारको आग्रहमा ती देशहरूले धरपकड गर्न थालेपछि सुरक्षित भूमि ठानेर चिनियाँ नागरिक नेपाल आएका थिए ।
सोही सूचना पाएपछि चिनियाँ अधिकारीले नेपाली अधिकारीहरूसँग छलफल गरेर पक्राउ गराएका हुन् ।
पक्राउ परेकाहरूले हजारौँ चिनियाँलाई ठगी गरेको प्रहरीले जनाएको छ । विच्याटलगायत माध्यमबाट उनीहरूले संगठित रूपमा ठगी गरेका छन् ।
विच्याटमार्फत चिनियाँहरूसँग सम्पर्क गर्ने र विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका थिए ।
त्यस्तै, पक्राउ परेकामध्ये कतिपय अनलाइन जुवा खेलाउने धन्दामा थिए । केही चिनियाँ भने डलर र सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
विदेशमा पक्राउ परेकालाई चीनमा लगेर कारबाही गरिने
नेपाल तथा पूर्वी एसियाली देशहरूमा चिनियाँ अधिकारीहरूले एकैपटक यस्तो अपरेसनको योजना बनाएका हुन् ।
यसअघि फिलिपिन्स, कम्बोडिया र मलेसियामा यस्तो किसिमको अपरेसन चलाइसकेको छ । जसमा दुई हजारभन्दा धेरै चिनियाँ पक्राउ परेका छन् ।
चार दिनअघि मात्र फिलिपिन्समा चिनियाँ प्रहरीसमेतको सहभागितामा छापा हानेर तीन सय ४२ जनालाई पक्राउ गरेको थियो ।
उनीहरूलाई पनि चीन लैजाने तयारी भइरहेको छ । गत २२ सेप्टेम्बरमा कम्बोडियामा संयुक्त अपरेसन चलाइएको यिथो ।
करिब एक हजार चिनियाँ पक्राउ परेका परेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
पक्राउ पर्नेमध्ये धेरै अनलाइन जुवामै संलग्न छन् । मलेसियामा गत महिना ६ सय ८० चिनियाँ नागरिक पक्राउ परेका थिए । नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्