
पोखरा, पुस ८ । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवनले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधिनजिक पुगेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
बाबर हायतले ७० तथा रोहन मुस्तफाले अविजित रहँदै ५९ रन बनाए ।
काठमाडौंका सुशन भारी, वसन्त रेग्मी र अमर रौटेलाले समान एक/एक विकेट लिए ।
जवाफमा काठमाडौंले पूरा २० ओभरमा ९ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।
कप्तान ज्ञानेन्द्रले ४०, पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाएबाहेक कुनैपनि खेलाडीले दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् ।
चितवनका सन्नी पटेल र रोहन मुस्तफाले समान २/२ विकेट लिए ।
काठमाडौंको ‘प्लेअफ’ पुग्ने सम्भावना कायमै
यो हारले पनि काठमाडौंको ‘प्लेअफ’ पुग्ने सम्भावना कायमै रहेको छ ।
अब अन्तिम खेलमा बुधबार बुटवल ब्लास्र्टर्स र विराटनगर टाइटान्स खेल्दैछन् । यो खेलबाटै काठमाडौंको भविष्य निर्धारण हुनेछ ।
२ अंकको विराटनगरले फराकिलो जित हासिल गरेका खन्डमा विराटनगर प्लेअफमा पुग्दा काठमाडौं बाहिरिनेछ । तर, विराटनगरको सामान्य जित वा बुटवलको जितले काठमाडौं प्लेअफमा पुग्नेछ ।
चितवनको शतप्रतिशत जित
चितवन शतप्रतिशत नतिजासहित १० अंकबाट शीर्ष स्थानमा छ । दोस्रो स्थानको बुटवलको ६ अंक छ ।
तेस्रो स्थानको काठमाडौंको ४ अंक छ भने ४ अंककै एक्सपर्ट धनगढी रनरेटका आधारमा चौथो स्थानमा रहँदा प्लेअफ पुग्ने सम्भावनाबाट बाहिरिएको छ ।
विराटनगर र साविक विजेता पोखरा पल्टनको २ अंक छ ।
६ टोली सहभागी प्रतियोगिताको लिगको शीर्ष स्थानमा रहने टोली शनिबार हुने प्रतियोगिताको सीधै फाइनल पुग्दा दोस्रो र तेस्रो टोलीले फाइनलका लागि बिहीबार प्लेअफ खेल्नेछन् ।
प्लेअफमा बुटवल पुगिसकेको अवस्थामा दोस्रो टोली काठमाडौं र विराटनगरमध्ये एक हुनेछ ।
प्रतिक्रिया दिनुहोस्