![](https://www.imagekhabar.com/wp-content/uploads/2021/09/ktm-jilla.jpg)
काठमाडौं, भदौ ३१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नर्गन आदेश जारी गरेको छ ।
पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोरोना संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।
साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने जनाएको छ ।
प्रशासनले कात्तिक १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।
प्रशासनले बिहीबार जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ ।
तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले असोज १ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले सांकेतिकरुपमा मात्र चाडपर्व मनाउन आदेश जारी गरेको छ । यस्तै सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ ।
स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने र निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
![](https://i0.wp.com/fra1.digitaloceanspaces.com/appharuspace/imagekhabar/uploads/2021/09/1-4-544x768.jpg?resize=544%2C768&ssl=1)
प्रतिक्रिया दिनुहोस्