Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


हेलो प्रहरी ! म बिहे गर्दिनँ


0
Shares

स्याङ्जा । १४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन् । गृहकार्य सकिन् ।

रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे । त्यहाँ विशेष चहलपहल थियो ।

उनलाई मनमनै जिज्ञासा उठ्योे, किन यति धेरै मानिस भेला भएका ? मलाई किन यहाँ ल्याइयो ? केहीबेरमा थाहा पाइन्– त्यहाँ उनको बिहे हुँदै छ ।

न उमेर पुगेको थियो न त उनलाई बिहे गर्न मन थियो । उनी उम्कन सक्ने अवस्थामा थिइनन् । बिलखबन्दमा परिन् केहीबेर ।

कक्षा ९ मा सँगै पढ्ने साथीसँग सहयोग लिइन् । प्रहरीलाई १०० नम्बरमा फोन गरेर आफैंले पनि खबर गरिन् ।

प्रहरी टोली तत्काल बिहे हुन लागेको घरमा पुग्यो । उनको बिहे रोकियो । झुक्याएर बिहे गराउन खोज्ने आफन्तलाई प्रहरी नियन्त्रणमा लियो ।

स्याङ्जाको हरिनास गाउँपालिका–६ की किशोरीले भोगेको घटना हो यो । सानैमा आमाको निधन भएपछि बुवाले अर्की ल्याए ।

उनी हजुरआमासँग बस्दै आएकी थिइन् । हजुरआमालाई फस्ल्याङफुस्लुङ पारेर आफन्तले सोही गाउँका २७ वर्षीय सन्तबहादुरसँग उनको बिहे गरिदिन लागेका थिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट