२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट


0
Shares

काठमाडौं, भदौ ३० । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वोत्कृष्ट काम गरेकोमा बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको छ ।

१५ औं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा बुधबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको उल्लेखनीय कार्यको मुल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली विगत एक वर्षमा मानब बेचबिखन तथा ओसारपसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखन र जबरजस्ती करणीमा समेत चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था र भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ बर्षीया बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारीक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

सोही अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघ संस्था संगको सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सिमा नाकाबाट उद्दार गरी परिवारमा फर्काईएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी पारिवारिक पुर्नमिलन गराएको थियो ।