२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


ल्याण्डफिल्ड निर्माणका लागि छुट्याइएको ४८ करोड फिर्ता


0
Shares

-नवीन सिंह/ईमेज  

धनुषा, पुस ७ । एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाममा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गतको ल्याण्डफिल्ड साइट आयोजना फिर्ता भएको छ ।

सरोकारवाला निकायको ढिलासुस्ती र लापरवाहीका कारण काम अगाडि नबढाउँदा आयोजना फिर्ता भएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको लापरवाही र राजनीति विवादका कारण एडीबीको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गतको ल्याण्डफिल्ड साइटका लागि छुटयाइएको ४८ करोड रुपैयाँ फिर्ता भएको छ ।

२०६९ सालमा तत्कालीन जनकपुर नगरपालिका, एडीबी र शहरी डिभिजन कार्यालयबीच सन् २०१८ फेब्रुअरीमै निर्माण सम्पन्न गर्ने गरी त्रिपक्षीय सम्झौता भए पनि  सरोकारवाला निकायको ढिलासुस्ती र विभिन्न अवरोधका कारण ल्याण्डफिल्ड साइट निर्माणको बजेट  फिर्ता भएको हो ।

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहको जवाफ भने यस्तो छ ।ल्याण्डफिल्ड साइटका लागि काम सुरु नगर्दै नगरपालिका अन्तर्गतको एक पर्ती जग्गा छुटयाइएको थियो ।

सो क्रममा जिल्लाका तीन ठाउँमा माटो सोलिंगको काम पनि गरियो । जसअनुसार उपमहानगरपालिकाले गुठी संस्थानसँग २०७३ सालमा सम्झौता गरेको थियो ।

तर सम्झौता भएको अढाई वर्ष बितिसक्दा पनि उपमहानगरले ल्याण्डफिल्ड साइट निर्माणको काम अगाडि बढाउन नसकेपछि सो योजना फिर्ता भएको हो ।

गौ संरक्षण मञ्चका अध्यक्ष एवं अभियन्ता जगदीश महासेठले उपमहानगरपालिकाको लापरवाहीका कारण आयोजना फिर्ता भएको आरोप लगाए ।

एडीबीको ९८ करोड ऋण अनुदानमा नगरभित्र ९.२ किलोमिटर सडक र ३२ किलोमिटर नाला निर्माणको काम भए पनि ४८ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको ल्याण्डफिल्ड साइटको काम हुन नसकेको हो ।

फोहोर व्यवस्थापन गर्न जनकपुर उपमहानगरपालिका–१८ भोइलमा निर्माण गर्न सम्झौता भएको ल्याण्डफिल्ड साइट अन्यत्र सार्न राजनीतिक उक्साहटमा स्थानीयहरुले माग गर्दै आन्दोलन गरेपछि काम अगाडि बढ्न नसकेको हो ।