२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष मुक्त


0
Shares

दैलेख । नेत्र विक्रम चन्द विप्लव समूहको नेकपाको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको छ ।

शाहीलाई कालीकोटको शुभकालिका गाउँपालिकाको छाती गाउँबाट अपहरणमुक्त गरिएको हो ।

चन्द समूहका कार्यकर्ताले भीरबाट ढुंगामुढा गर्न थालेपछि  प्रहरीले हवाई फायर समेत गरेको थियो ।

अध्यक्ष शाही भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीको नियन्त्रणमा राखिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम ओलीयाले जानकारी दिए ।

पक्राउ गर्न खोज्दा अपहरणकारी भागेकाले उनीहरुको खोजी भइरहेको बताइएको छ ।

आइतबार राती १२ बजेतिर १०/१५ जनाको संख्यामा आएका चन्द समूहका कार्यकर्ताले शाहीलाई अपहरण गरेका थिए ।

शाहीसँगै उनकी पत्नी इला शाहीको पनि अपहरण भएको थियो । ईला शाही र भाइ हस्तबहादुर शाहीलाई भने बिहान छाडिएको थियो ।

अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको छ ।