२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


मुशर्रफविरुद्ध अदालत निर्मम: मृत्युदण्डअघि नै मृत्यु भए शव ३ दिन चोकमै झुण्ड्याउनू


0
Shares

काठमाडौं, पुष ४ । पाकिस्तानी अदालतले मृत्युदण्डअघि नै मृत्यु भए त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको शवलाई झुण्ड्याउन आदेश दिएको छ ।

लाहोर उच्च अदालतले मुलुकका पूर्व राष्ट्रपति एवं सेनाप्रमुख मुशर्रफप्रति निर्मम आदेश सुनाएको गल्फ न्यूजले जनाएको छ ।

गत हप्ता आफुले गरेको मृत्युदण्ड सम्बन्धि फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा लाहोर उच्च अदालतले भनेको छ, ‘उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्रेसी चोकमा झुण्ड्याउनु’ ।

अदालतको फैसलाप्रति नै तीब्र प्रतिक्रिया जन्मिरहेको पाकिस्तानमा अदालतको यति निर्मम आदेश सार्वजनिक भएपछि परिस्थिति जटिल बन्नसक्ने अनुमान गरिएको छ ।

मृत्युदण्ड दिने अदालती फैसलाको सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले विरोध गरिसकेका छन् । सेनाले त आफ्ना पूर्व सेनाध्यक्षको बचाउमा विज्ञप्ति नै सार्वजनिक गरिसकेको छ ।

सन् १९९९ को अक्टोबरमा रक्तपाविहीन विद्रोह गरेर सत्ता हातमा लिएका पूर्वसैनिक मुशर्रफले २००१ मा आफैलाई राष्ट्रपति घोषित गरेका थिए ।

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका मुशर्रफले सन् २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको ठहर अदालतको छ ।

अस्वस्थ रहेका ७६ वर्षीय मुशर्रफ भने हाल उपचारका लागि युएईमा छन् । अस्पतालबाटै भिडियो सन्देश जारी गर्दै उनले अदालतले प्रतिशोधपूर्ण फैसला गरेको बताएका छन् ।