
काठमाडौं, साउन १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेको छ ।
नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा जारी खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको हो ।
खेलमा नेदरल्यान्डस्ले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालले ५ रन दिँदा पहिलो विकेट लिएको थियो । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपाल कामीका नाममा लेखिएको छ । उनले ड्यानियल टेर ब्राकलाई ‘बोल्ड आउट’ गरेका थिए ।
त्यसैगरी, नेदरल्यान्ड्सले ५० रन जोड्दा दोस्रो विकेट गुमायो । दोस्रो विकेट कप्तान पारस खड्काको नाममा रह्यो ।
नेदरल्यान्ड्सले ५८ रन जोड्दा तेस्रो तथा ७२ रन जोड्दा चौथो विकेट गुमाएको थियो । सन्दीप लामिछानेले तेस्रो तथा पारस खड्काले चौथो विकेट लिएका थिए ।
त्यसपछि भने नेदरल्यान्ड्सले सुधारोन्मुख प्रदर्शन गरेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले एकदिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेको हो ।
नेपालले दुई खेलको शृंखला खेल्नेछ । अर्को खेल शुक्रबार हुनेछ ।
नेपालले गत चैत १ गते एकदिवसीय मान्यता पाएको थियो । जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत् छनोट प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो ।
नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको हो ।
प्रतिक्रिया दिनुहोस्