ट्वाइलेट, जनप्रतिनिधि र मेरो अनुभूति « Image Khabar


ट्वाइलेट, जनप्रतिनिधि र मेरो अनुभूति


Border circle
Imagekhabar


केके मानन्धर

भारतको मथुरा वरिपरिको गाउँमा नवविवाहिता दुलही जयाले पुरातन सोचविरुद्ध परिवर्तनको लागि संघर्ष गर्छिन् । सुरुमा जयाकी श्रीमान केशवलाई गाह्रै थियो । नहुनु पनि कसरी ? सदियौंदेखि खुला ठाउँमा शौच गर्दै हुर्किएकालाई घरमै चर्पी बनाएर शौच गर्न लगाउनु भनेको कथित परम्पराविरुद्ध आन्दोलन गर्नु सरह थियो । तर विद्रोह नै सहि, अन्ततः घरमै चर्पी बनाएर शौच गर्नुपर्छ भन्ने सन्देश दिन जया सफल हुन्छिन् । त्यसमा केशव र जयाको अहम् भूमिका रहन्छ ।

श्री नारायण सिंहले निर्देशन गरेको हिन्दी सिनेमा ‘ट्वाइलेट एक प्रेम कथा’को विषय हो, यो । केशवको भूमिका निर्वाह गरेका अक्षय कुमार र जयाको भूमिकामा रहेकी भूमि पेड्नेकरले घरको प्राङ्गणमा शौच गर्नु हुन्न भने अन्धविश्वासलाई चिरेर आन्दोलनमार्फत चर्पी र सरसफाइको महत्वलाई सिनेमामार्फत बुझाउँछन् ।

मलाई ठ्याक्कै याद छ । हिन्दी सिनेमा ट्वाइलेटमा जस्तै खुला ठाउँमा शौच गर्ने बाध्यता हामीले पनि भोग्यौं । फरक यति छ कि सिनेमामा चर्पी बनाउनु हुन्न भन्नेहरुको मत बलियो थियो तर हाम्रोमा ढलनिकासको सहि प्रबन्ध नभएर बाध्य भएर खुला ठाउँमा शौच गर्नुपथ्र्यो ।
मध्यपुर थिमि नगरपालिका घोषणा हुनु केहि अगाडि सम्मपनि पुरानो बस्तीका नगरबासीहरु खुला ठाउँमै शौच गर्थे । त्यो बेलासम्म वर्षातको पानी बग्ने ससाना नाली बाहेक नगरभित्र ढलनिकासको व्यवस्था नै थिएन । २०५२ साल अगाडि न घरमा चर्पी हुन्थ्यो न नुहाउने छुट्टै कोठा । कम्पाउन्ड हुनेहरुले सेफ्टी ट्याङ्कीसँगै चर्पी बनाएका थिए । बाँकी अधिकांस नगरबासी खुला ठाउँमा शौच गर्थे र घरछेउको ढुङ्गेधारा, आँगनको खुला ठाउँ र कौसीमा नुहाइ धुवाइ गर्थे । लुगा धुन र धेरै पानी चलाउनु पर्ने अवस्थामा नजिकको खोला जान्थे । यस्ता अनुभूति पोखिरहँदा धेरैलाई नौलो लाग्नु स्वभाविक छ । तर बास्तविकता यहि हो ।

त्यो बेलासम्म घरबाट निस्किने फोहोरमैला पनि खुला ठाउँमा फाल्यौं । फोहोरलाई बिसर्जन गर्ने विकल्प नभएपछि घरछेउको पाखो जमिनबाटै फोहोरमैला फाल्ने दैनिकी जस्तो बनेको थियो । खेतबारी हुनेहरुले फोहोरलाई कुहाएर मलको रुपमा प्रयोग गर्थे, जमिन नहुनेहरुको बाध्यता त्यहि हो ।

त्यो बखत सिद्धिकाली, बालकुमारीको उकालो, सिवाटोल, भुलाँख्यःको जल्खुतां, कयकुतां, बोडेको पलेस्वांपुखू परिसर, थिमिलाँ, नगदेशको गार्चा लगायतको नगर प्रवेशद्वारमा फोहोरको डुंगुर असरल्ल देखिन्थ्यो । थुप्रिएको फोहोर सम्झिँदा अहिले भने एकादेशको कथा बनेको छ ।
५५ सालताका काठमाडौंको त्रिचन्द्र कलेज अध्ययन गर्दासम्म कलेजका साथीहरुलाई घरमा बोलाउन लाज हुन्थ्यो । कारण, फोहोर र चर्पीको समस्या नै हो । कतिपय अवस्थामा ललितपुर, काठमाडौं र भक्तपुरका नातेदारहरु समेत चर्पीकै कारणले बस्नेगरी पाहुना लाग्दैनथे । त्यहि भएर मनमा एक किसिमको कुण्ठा जस्तै थियो । तर अवस्था अहिले फेरिएको छ ।

सिद्धिकाली चोकदेखि हुइँकिएर आउने फोहोर बोक्ने गाडी बहाखा बजार, पुरानो थिमिको बालकुमारी हुँदै मुख्य बाटो भएर शंखधरचोक पुग्न केहि मिनेट पनि लाग्दैन । त्यहिबीचमा बाटो ढुकेर फोहोरको पोको गाडीमा फाल्न भ्याउने गृहिणीले बिहानीपखको एक ढंगको युद्ध जिते जस्तो महसुस गर्थे । स्वयं मसँग पनि कयौंपटक फोहोर बोक्ने गाडी कुरेको अनुभव छ । कतिपय अवस्थामा गाडी भेटाएपनि फोहोर फाल्नै सकिँदैन थियो । गाडी पहिल्यै फोहोरले भरिएर आउने र नरोकिकनै हुइँक्याउने भएर फोहोर फाल्न बस्ने धेरै नगरबासीको गाडी चालकप्रति गुनासो हुन्थ्यो ।

गाउँ विकास समितिलाई खारेज गरेर नगरपालिका घोषणा भएसँगै नगरमा फोहोर संकलन चाहिँ हुन थाल्यो तर पर्याप्त थिएन । त्यसो त नगरका नयाँ बस्तीहरुमा निजी कम्पनीका फोहोर संकलकहरु ट्रयाक्टरमा फोहोर संकलन गर्न आउँथे । तर त्यहि सुविधा घनाबस्ती भएको पुरानो नगरभित्र नरहेकोले घर छेउको पाखो जमिनबाट फोहोर फाल्नु नगरबासीको बाध्यात्मक परिस्थिति जस्तो थियो । एकातर्फ गल्ली, चोक र भित्री टोलका टोलबासीले फोहोरको गाडी आउने मेसो पाउँदैनथे अर्कोतर्फ गाडी आएपनि हुइँकिएर जाने भएर फोहोरका पोका गाडीमा फाल्न सक्नेलाई चिठ्ठा परेको जस्तो हुन्थ्यो । यो दृष्टान्त मध्यपुरमा करिव डेढ दसक अघि सम्म पनि थियो ।

सरसफाई अभियान, चेतना र फोहोर बिसर्जनको उपाय
कीर्तिपुरका राजमान मानवलाई सलाम गर्छु जसले विश्व सरसफाई अभियान चलाएका छन् । शुन्यबाट सुरु हुने अभियान एक, दुई, तीन हुँदै क्रमशः सफल हुँदै जाने वास्तविकता हो । ठीक यहि सिद्धान्तलाई अंगिकार गर्दै उनी कहिले काभ्रेको बनेपा बजारमा भेटिन्छन् त कहिले धनुषाको जानकी मन्दिरमा । कयौं पटक नेपालका फोहोर भनिएका शहरलाई धुलो र फोहोरमुक्त बनाउने उद्देश्यले साथीभाइलाई बटुलेटर बढार्न पुग्छन् । सेतो टिसर्ट र हाफ पाइन्ट लगाएका उनीहरुको एउटा टोली दक्षिण एशियाको बंगलादेशसम्म पुगेर सरसफाई अभियान अन्तर्गत भुइँ बढार्न र सचेतना दिन पुगेका छन् ।

धेरै समय सुटुक्क आफ्नै तरिकाले शहर सफाई गरिरहेका भेटिने उनीहरुलाई जोकोहिले प्रश्न गर्दा हुन् । उनीहरुको शहर सफाई सम्बन्धिको दृढ इच्छाशक्ति र समर्पणलाई खिस्सी गर्दा हुन् कि ।

जाबो कुचो लिएर निश्चित ठाउँको भुइँ बढारेर के हुन्छ ?
एउटै टोलीले कहिले नेपालगञ्ज त कहिले हेटौंडा पुगेर भुइँ बढार्दा हजारौं नागरिकले फाल्ने फोहोर कसरी व्यवस्थापन हुन्छ ?
तर राजमानको टोली, मात्र भुइँ बढार्दे हिँड्दैनन् । बरु सम्बन्धित ठाउँमा पुगेर सफाई सम्बन्धिको चेतना दिन्छन् । हो, यस्तै मनको आवश्यकता छ हाम्रोमा । गुटखा र पानपराग खाएर फुत्त प्लाष्टिक भुइँमा फाल्ने असभ्य नागरिक, चुरोट खाइसकेपछि ठुट्टालाई दुई औंलाको चेपबाट हुत्याउनेहरुलाई राजमानको सफाई सम्बन्धिको दृढ इच्छाशक्तिले प्रभावित बनाउन सक्यो भने माथिका प्रश्नहरुको सरल उत्तर भेटिनसक्छ । त्यति मात्र होइन जहाँतहिँ थुक्ने, घरको फोहोरलाई कोहि नभएको मौकामा फुत्त चोकमा फाल्नेहरुलाई सफाई सम्बन्धिको चेतना दिन सके बेस हुन्छ । चेतनास्तरै नभएका, बुझ्न नचाहनेलाई नियम बनाएर जरिबाना तिराउने र कारबाही गर्न सकिन्छ ।  

बस् जथाभावी फोहोर गर्नुहुन्न भने चेतना काफी छ, शहरलाई सुग्घर बनाउनको लागि । प्राकृतिक सौन्दर्यले भरिएका नेपालका गाउँठाउँ यत्तिकै सुन्दर र आकर्षक छन् । तर फोहोरले कुरुप बनाएको शहरलाई मनमोहक बनाउनको लागि नागरिक र सरकार दुइटैको भूमिका महत्वपूर्ण छ । यसको लागि भारतको सिक्किम होस् वा पूर्वी नेपालको धनकुटा र राजधानीसँगैको भक्तपुर नगरपालिकाबाट सिक्न सकिन्छ । यी स्थानिय तहले नगर सफाई गरेपनि फोहोर प्रशोधनलाई कम प्राथमिकता दिएको पाइन्छ । शहर सफा गरेर फोहोर फाल्ने ठाउँ दुर्गन्धित बनाउनु पनि फोहोर व्यवस्थापनको सहि उपाय भने होइन । त्यसैले आजकै मितिबाट फोहोरलाई मोहर बनाउने विधि लागू गर्नु जरुरी छ ।

फोहोर व्यवस्थापनमा विद्यासुन्दरले मदनसुन्दरबाट सिकूनु्
फोहोर व्यवस्थापनमा अहिलेको समस्या नागरिकस्तरको चेतना अभाव मात्रै होइन बरु सरकारको उदासिनता अर्को मुख्य कारण हो । बस् फोहोर संकलन गर्ने र नयाँनयाँ ठाउँ खोजेर फाल्नु मात्रले शहरमा जम्मा भएको फोहोर सम्बन्धिको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्र्र्नै सक्दैन ।

त्यसैले मध्यपुरले सुरु गरेको फोहोर प्रशोधन सम्बन्धिको विधि, काठमाडौंका विद्यासुन्दरले मदनसुन्दरबाट सिकून् । विद्यासुन्दर मात्र होइन, ललितपुरका चिरिबाबु, कीर्तिपुरका रमेशबाबु लगायतले पनि सिकून् । अहिलेलाई मध्यपुरको चार वडाबाट सुरु गरिएको फोहोरलाई मोहर बनाउने विधि क्रमशः अरु स्थानिय तहले पनि लागू गर्दै जाने हो भने राजधानीको फोहोर सम्बन्धिको समस्या सधैंको लागि समाधान हुनेछ ।

फोहोरलाई मोहर बनाउने जापानी विधि
मध्यपुर थिमि नगरपालिकाले रिकिसी कम्पोष्ट मल कम्पनीसँग सहकार्य गरी फोहोरलाई मोहर बनाउने जापानी विधि सुरु गरेको छ । फोहोरलाई प्रशोधन गरी कम्पोष्ट मल बनाउने र सोही मल बचेर आम्दानी गर्दैआएको छ । परीक्षणको रुपमा सुरु गरिएको यो विधिलाई क्रमिक रुपमा बिस्तार गर्दै लाने नगरपालिकाको योजना देखिन्छ । मेयर मदनसुन्दर श्रेष्ठले फोहोरबाट बनाएको कम्पोष्ट मलको प्रयोगबाट कृषि उत्पादनमा झण्डै तीन गुणा बृद्धि भएको दाबी गरे । त्यहि मललाई शितल निवासस्थित राष्ट्रपति कार्यालयको बगैंचामा समेत प्रयोग गरिएको छ । कुहिने फोहोरलाई संकलन गरी कम्पोष्ट मल बनाउने विधि देशका अन्य स्थानिय तहले पनि प्रयोग गर्ने हो भने नेपाल सरकारले बार्षिक अर्बौ रुपियाँ विदेशबाट मल आयात गर्न खर्चिने रकम कटौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्