२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


महाभियोगको डण्डाले डामिएका ट्रम्प ह्वाइटहाउसबाटै गलहत्याइएलान् ? यस्तो छ इतिहास


52
Shares

पुष ३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।

ट्रम्प एन्ड्रु जोनसन र बिल क्लिन्टनपछि अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका हुन् । यसअघि जोनसन र क्लिन्टनले पनि महाभियोगको सामना गरिसकेका छन् ।

तल्लो सदनले पारित गर्दैमा महाभियोग प्रमाणित हुन्न । त्यसका लागि अमेरिकामा निकै शक्तिशाली मानिने माथिल्लो सदन अर्थात् सिनेटले पारित गर्नुपर्ने हुन्छ । उनी राष्ट्रपति रहने वा नरहने भन्ने सिनेटको निर्णयमा निर्भर हुनेछ ।

ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सका बहुमत सांसदले मतदान गरे । मतदान दलीय विभाजन अनुरुपै भयो । कसैले पनि पार्टी फ्लोर क्रस गरेनन् । अर्थात् पक्षमा मत दिने २३० डेमोक्र्याट र विपक्षमा मत दिने १९७ रिपब्लिकन सांसद थिए ।

दुई अभियोग सामना गरिरहेका ट्रम्पमाथि दोस्रो आरोप भने कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने विषय छ । यस आरोपमा भने मतदान हुन बाँकी नै छ ।

राष्ट्रपतिको दौडमा पार्टीभित्रै प्रारम्भिक र पार्टीबाट उम्मेदवार बनिसकेपछि आफ्ना विरोधीहरुप्रति आलोचनाको कटू शब्दबाण प्रहार गर्ने ट्रम्पले यस समग्र प्रकरणलाई भने आफूमाथि डेमोक्र्याटहरुको ‘कू’ को संज्ञा दिएका छन् ।

सन् २०१६ को निर्वाचन अभियान र परिणामसँगै ट्रम्पको व्यवहार र आचरणले उनी सँग्लो रुपमा ह्वाइटहाउसबाट बाहिरिन सक्लान् भन्ने प्रश्न उठिसकेको थियो । अन्ततः उनीमाथि महाभियोगको डण्डा बर्सिएको छ ।

सिनेटबाट होला त महाभियोग पारित ?

योसँगै प्रश्न उब्जेको छ के अमेरिकी संसदको सबैभन्दा शक्तिशाली सदन सिनेटबाट पनि उनीविरुद्धको महाभियोग प्रस्ताव पारित होला त ? कति सजिलो छ महाभियोग प्रस्ताव पारित हुन ? उनीभन्दा अघिल्ला दुई राष्ट्रपति जसमाथि महाभियोग लगाइएको थियो किन भएन पारित ?

अघिल्ला नजीरलाई हेर्ने हो भने ट्रम्पविरुद्ध ल्याइएको महाभियोग सिनेटबाट पनि पारित भएर ह्वाइटहाउसबाट उनी गलहत्तिनु पर्ला भन्न सकिने आधारहरु कमै छन् ।

त्यसको पहिलो छनक तल्लो सदनको मतादनमै देखिइसकेको छ । हाउस अफ रेप्रेजेन्टेटिभ्समा दलीय आधारमा मतदान भयो । कुनै पनि रिपब्लिकन सांसदले प्रस्तावको पक्षमा मत दिएनन् । यसो भन्नुको तात्पर्य माथिल्लो सदनमा पनि दलीय आधारमै मतदान हुने लक्षण देखिनु हो ।

कति चाहिन्छ प्रस्ताव पारित हुन मत ?

तल्लो सदनले बहुमतले निर्णय गर्न सक्छ भने माथिल्लो सदन सिनेटबाट भने दुई तिहाई मतबाट नै प्रस्ताव पारित हुनुपर्छ । प्रस्ताव पारित गर्नका लागि आवश्यक पर्ने दुई तिहाई मत अर्थात् ६७ भोट माथिल्लो सदनमा डेमोक्र्याटहरुको छैन ।

बरु सांसदको संख्या नै पनि रिपब्लिकनको बढी छ । एक सय सदस्यीय सिनेटमा रिपब्लिकन ५३, डेमोक्र्याटस् ४५ र अरु दुई स्वतन्त्र सांसद छन् ।

ढुक्क ट्रम्प !

त्यसैले त ट्रम्प डेमोक्र्याटस्हरुको बहुमत रहेको तल्लो सदनबाट पारित भएको प्रस्तावबाट आत्तिएका छैनन् । बरु उनले सदनको कार्वाही नै अवज्ञा गरिदिए । बयानका लागि बोलाएको समितिको बैठक नै बहिष्कार गरे । उल्टै तल्लो सदनका सभामुखमाथि तथानाम गाली गरे ।

उनको कार्यालय ह्वाइट हाउसले त विज्ञप्ति निकालेरै सिनेटमा हुने सुनुवाइका क्रममा राष्ट्रपति निर्दोष साबित हुने कुरामा विश्वस्त रहेको जनाएको छ । यसका लागि चाहिँ नयाँ वर्ष २०२० को शुरुवातसँगै बोलाइने सिनेट बैठक नै कुर्नुपर्ने हुन्छ ।

आगामी वर्ष अर्थात् सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको मुखमै ट्रम्पले महाभियोग सामना गरेका छन् । ह्वाइटहाउसमा कार्यकाल दोहोर्याउनका लागि उनी आफै यस निर्वाचनमा उम्मेदवार रहेका छन् । उनीमाथिको आरोप सिनेटबाट पनि सिद्ध भएमा उनको उम्मेदवारी के हुनेछ भन्ने प्रश्न पनि सँगै उठेको छ ।

महाभियोगले रोक्न सक्दैन राष्ट्रपति निर्वाचनको दौड

डेमोक्र्याटहरु महाभियोग लाग्नु नै ट्रम्पका लागि कालो धब्बा हो भन्दै अब उनलाई मतदाताले स्वीकार्न नसक्ने बताइरहेका छन् । रमाइलो चाहिं के छ भने महाभियोग लागेपनि ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन र जितेर ह्वाइट हाउसमा फर्कन कुनै बाधा नहुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सिनेटले उनलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित नगर्दासम्म महाभियोग लागेर पदच्यूत भएपनि आउँदो निर्वाचनमा उम्मेदवार हुन नरोक्ने बताइएको छ ।

सदनको अंंक गणितका कारण स्वयं डेमोक्र्याटहरुले पनि सिनेटबाट महाभियोग पारित हुने सम्भावना देखेका छैनन् । यो कदमले राष्ट्रपतिलाई आफ्नो कामप्रति उत्तरदायी बनाउन दबाब बढ्ने उनीहरुको तर्क छ । यो प्रकरणले आगामी निर्वाचनमा उनको लोकप्रियतामा कमी ल्याउन सकिन्छ कि भन्ने दाउ पनि डेमोक्र्याट्सहरुको देखिन्छ ।

महाभियोग सामना गरेका दुई राष्ट्रपतिः एक मतले जोगिएका एन्ड्रु !

यसअघि एन्ड्रु जोनसन र बिल क्लिन्टन राष्ट्रपति रहँदा पनि महाभियोगको सामना गरेका थिए । तर उनीहरुलाई पनि दुई तिहाई मत पुर्याएर सिनेटले पदच्यूत गर्न सकेन ।

रिचर्ड निक्सनमाथि पनि महाभियोगका लागि तल्लो सदनले अनुसन्धान गरेको थियो । अरु केही राष्ट्रपतिमाथि पनि महाभियोग लगाइने हौवा त पिटिएको थियो तर सामना नै चाहिँ कसैले पनि गरेका थिएनन् ।

सन् १८६८ मा रिपब्लिकन राष्ट्रपति जोनसन एक भोटबाट पदच्यूत हुन जोगिएका थिए । जोनसनका विरुद्ध पनि तल्लो सदनले ४७ का विरुद्धमा १२६ मतले महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो ।

क्लिन्टनको लोकप्रियता र राष्ट्रलाई ढाँट्दाको परिणाम !

सन् १९९८ मा महाभियोगको सामना गर्ने अर्का राष्ट्रपति थिए डेमोक्र्याट्सका बिल क्लिन्टन । मोनिका लेवेन्स्की प्रेम प्रकरणमा नैतिक आचरण गुमाएको र राष्ट्रलाई ढाँटेको भन्दै उनीमाथि महाभियोग लगाइएको थियो ।

तल्लो सदनमा भएको मतदानमा महाभियोगको पक्षमा २२८ तथा विपक्षमा २०६ मत परेको थियो । तर सिनेटमा भएको मतदानमा महाभियोगको पक्षमा ४५ तथा विपक्षमा ५५ मत परेपछि उनको पद जोगिएको थियो ।

१९ डिसेम्बरको संयोग

डिसेम्बर १९ को संयोग । यो महाभियोग प्रकरणमा अर्को रमाइलो एउटै मिति पर्नुको पनि परेको छ । बिल क्लिन्टनविरुद्ध महाभियोग लगाउने निर्णय सन् १९९८ को डिसेम्बर १९ मै भएको थियो भने ट्रम्पमाथि पनि डिसेम्बर १९ कै दिन महाभियोग लगाइएको छ ।

राजिनामा गरेर बचेका निक्सन !

बहुचर्चित वाटरगेट काण्डमा फसेका अर्का राष्ट्रपति रिचर्ड निक्सनले भने सन् १९७४ मा हाउस अफ रेप्रेजेन्टेटिभ्सले महाभियोग लगाउने भएपछि राजिनामा दिएका थिए ।

उनले राजिनामा नगरेका भए सायद उनीविरुद्धको महाभियोग भने दुबै सदनबाट पारित भई पदच्यूत हुनुपर्ने अवस्था थियो ।