एकै परिवारका ६ जनाको हत्यामा संलग्नको खोजी जारी, अनुसन्धानमा कुकुर पनि प्रयोग « Image Khabar


एकै परिवारका ६ जनाको हत्यामा संलग्नको खोजी जारी, अनुसन्धानमा कुकुर पनि प्रयोग

संखुवासभा हत्या प्रकरणः आँखा नदेख्ने, कान नसुन्ने ९० वर्षीय वृद्ध पीडाको आहालमा

Border circle
Imagekhabar

संखुवासभा, भदौं २१ । संखुवासभाको मादीमा भएको नृशंस हत्या प्रकरणमा संलग्न अपराधीको खोजीका लागि प्रहरीहरु घटनास्थल पुगेका छन् । तालिम प्राप्त कुकुर नै झिकाएर अपराधको अनुसन्धान हुँदैछ ।

परिवारका सबै सदस्य गुमाएका आँखा नदेख्ने र कान नसुन्ने ९० वर्षीय वृद्धले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएपछि अनुसन्धानमा अन्यौल बढेको छ ।

मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका ६ सदस्यको एक साथ हत्या गरिएको हो । शवको विभत्स दृष्य देख्दा लखेटी लखेटी हत्या गरेको जस्तो देखिएको छिमेकीहरुले बताएका छन् ।

आफ्नी श्रीमती, छोरा, बुहारी, नाति नातिनाको विभत्स हत्याको सुईंकोसम्म नपाएका तेजबहादुरका बुवा बौद्धमान कार्कीले हत्या कसले गरेको भन्ने जानकारी नरहेको बताएका छन् ।

हत्या गरिएकामा बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५६ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की छन् । यस्तै तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की तथा ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गोमा कार्की छन् ।

एकजनाको शव घरभित्र, दुईजनाको कान्लो, दुईजना खोल्सो तथा एकजनाको बाटोमा भेटिएकाले पनि हत्या लखेटी लखेटी गरेको हुनसक्ने अनुमान छिमेकीह्रुले गरेका हुन् । शवको घाँटी र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

तेजबहादुरका दुई छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा रहेको र नरेश मलेशियामा तथा रमेश दुबईमा रहेको छिमेकीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीसहितको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ । अनुसन्धानका लागि धरानबाट संघीय प्रहरीको टोली कुकुर पनि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्