सुनसरी । सुनसरीको धरानसिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको छ । प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएकाले विभिन्न दलका कार्यकर्ताहरुले आज प्रतिष्ठानमा तोडफोड गरेका छन् ।
संघीय लिम्बुवान मञ्च, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । ८४ दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर यहाँका चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् ।
आइतबारदेखि चिकित्सकहरुले स्वास्थ्य उपचार बहिष्कार गरेको भन्दै विभिन्न दलका कार्यकर्ताहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाएको ताला फोरेका हुन् । बिरामी परीक्षण गर्न छाडेपछि त्यसको विरुद्धमा उपकुलपति कार्यालयमा लगाइएको ताला फोरेको संघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले बताउनु भयो ।
बिरामीलाई दुःख दिने नियतले चिकित्सक, नर्स र कर्मचारीहरुले काम बहिष्कार गरेपछि आफूहरुले आन्दोलन गरेको इजमको भनाइ छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले प्रतिष्ठानमा नारावाजी गर्दै आएका विभिन्न दलका कार्यकर्तालाई तितरवितर पार्न बल प्रयोग गर्ने क्रममा दुई प्रहरी घाइते भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्