१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


मंगल ग्रहमा नासाको रोबटले चट्टानको नमुना संकलन गर्यो


0
Shares

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले दोस्रो प्रयासमा मंगल ग्रहबाट चट्टानको नमुना संकलन गरेको छ । उक्त रोबटले रोशेट नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर नमुना निकालेको हो ।

मंगलग्रहबाट प्राप्त तस्बिरहरूमा ढुङ्गाको भित्री भागबाट सुरक्षित रूपमा नमुना निकालिएको संकेत देखिन्छ । गत महिना गरिएको पहिलो प्रयासमा संकलन गर्न खोजिएको नमुना धूलोपिठो भएको थियो ।

यदि पर्सिभिअरन्स आफ्नो काममा सफल भए बाहिरि ग्रहबाट पृथ्वी ल्याउन चट्टान सङ्कलन गरिएको यो पहिलो पटक हुनेछ । उक्त रोभरले आगामी वर्षभित्र दुई दर्जन वटाभन्दा बढी नमुना सङ्कलन गर्ने जिम्मा पाएको छ ।

यो दशकको अन्त्यतिर अमेरिका र युरोपको संयुक्त प्रयासमा ती नमुना अनुसन्धानका लागि पृथ्वीमा ल्याइने योजना छ । चट्टानमा प्वाल पार्ने अभ्यास साँच्चै सफल भएको घोषणा गर्नका लागि नासाले मंगल ग्रहमा खिचिएका थप तस्बिरहरू कुरिरहेको छ । तर सफलता हात लागेकोमा उक्त संस्था विश्वस्त देखिएको छ ।