५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


भीम रावलको किटानीः ‘सन् १९५० को सन्धि र एमसीसी उस्तै, अमेरिकी सेना आउँछ’

एमसीसीभित्र थुप्रै गोप्य सम्झौंता भएको दावी

0
Shares

काठमाडौं, भदौं १९ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगू गरिए अमेरिकी सेना नेपाल भित्रने किटानी गर्नुभएको छ ।

एमाले अछामका काठमाडौंस्थित कार्यकर्तासँगको अन्तरक्रियामा उक्त सम्झौंतालाई नेपाल–भारत सन्धि सन् १९५० सँग तुलना गर्दै नेपाली भूमि भारतीय कब्जामा गए जस्तै एमसीसी सम्झौताले नेपाल अमेरिकाको अधीन रहनुपर्ने दावी गर्नुभयो ।

सम्झौताका विभिन्न धारामा नेपालको स्वतन्त्रता र स्वाधीनतामाथि आँच आउने कुरा भएको भन्दै नेपाल सरकारले प्रसारण लाइनमा मर्मत गर्न पर्दा गर्न नसक्ने र एमसीसीकै अनुमति लिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

सम्झौतामा अमेरिकी कानुन मान्नुपर्ने उल्लेख गरिएको भन्दै नेता रावलले भविष्यमा अमेरिकाले सेना नेपाल पठाउने कानुन बनाए त्यो पनि मान्नुपर्ने र त्यहीँ कानुनको बलमा अमेरिकी सेना नेपाल आउने ठोकुवा गर्नुभयो ।

सम्झौतामा भारतसँग सहमति लिनुपर्ने भन्दै राखिएको प्रावधानमा आपत्ति जनाउँदै प्रश्न गर्नुभयो, ‘भारत र अमेरिका मिलेर नेपालमा दाइँ गर्ने कुरा देशभक्त नेपालीलाई स्वीकार्य हुन्छ ? के नेपाल विदेशीको उपकरण हो ?’

एमसीसीभित्र थुप्रै गोप्य सम्झौंता भएको दावी गर्दै रावलले कार्यान्वयन सम्झौता अझ खतरनाक रहेको टिप्पणी गर्नुभयो ।