
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै तहबाट राजीनामा दिएको उल्लेख छ। उनी माधव नेपालले गठन गरेको नेकपा एसमा जाने भएका छन्। नेकपा एसले जनताको बहुदलीय जनवादलाई मूल कार्यनीति बनाउनुपर्ने अडान राख्दै आएका गौतमले सोही पार्टीमा प्रवेशको तयारी गरेका छन्।
गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन्। ‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं ९अध्यक्ष ओली० ले पालना गर्नुभएन। एमाले र माओवादी केन्द्रको साझा घोषणालाई पनि प्रधानमन्त्री भएपछि लागु गर्नुभएन’, गौतमले राजीनामा पत्रमा लेखेका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले ओलीले गरेका कामलाई पटकपटक असंवैधानिक भन्दा पनि उनी नसच्चिएको गौतमको आरोप छ।
उनले ओलीमाथि जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीको विचार र मान्यताविपरीत संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको आरोप पनि लगाएका छन। ‘जननेता मदन भण्डारीको कम्युनिस्ट पार्टीले जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताविपरीत अध्यक्ष ओली चल्नुभयो’, गौतमको राजीनामा पत्रमा लेखिएको छ।
प्रतिक्रिया दिनुहोस्