१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


आजदेखि काठमाडौंमा फोहोर उठ्न थाल्याे, व्यवस्थापन गर्न एक महिना लाग्ने


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । ल्याण्डफिल्ड साइट वरपरका स्थानीय र काठमाडौं महानगरपालिकाबीच हिजो साँझ सहमति भएपछि महानगरपालिकाले आज विहानदेखि फोहोर उठाउन थालेको हो ।

गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको छैन ।

हिजो साँझ काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो । महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामीबीच ९ बुँदे सहमति भएको हो ।

सहमति अनुसार महानगरपालिकाले नुवाकोटको तीनपिप्ले–सिसडोल सडक दुई साताभित्र ग्राभेल गर्ने छ भने कालोपत्रेका लागि तत्कालै टेण्डर प्रक्रिया शुरु गरिने छ । यस्तै फोहोर ढुवानी गर्ने गाडीहरुमा लिचेड बक्सको व्यवस्था गर्ने र तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न पाइने छैन ।

उता, सरकारले उपत्यकाको फोहोर ब्यवस्थापनका लागि दीर्घकालीन योजना अन्तर्गत खोजी गरेको बञ्चरेडाँडामा पनि आगामी शुक्रबारदेखि फाहोर ब्यबस्थापन गर्न शुरु गरिने पनि महानगरपालिकाले जनाएको छ । अब कुनै अवरोध नभए उपत्यकाको संपूर्ण फोहोर उठाएर ब्यवस्थापन गर्न एक महिना लाग्ने महानगरपालिकाले जनाएको छ ।