११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


विराटनगर स्थित भारतीय फिल्ड अफिसमा आजबाट सेवा बन्द


0
Shares

विराटनगर । विराटनगरमा रहेको भारतीय फिल्ड अफिसले आजबाट आफ्नो सेवा बन्द गरेको छ ।

भारतीय दूतावासले फिल्ड अफिसका रुपमा १० वर्ष अघि सो कार्यालय स्थापना गरेको थियो ।

भारतीय दूतावासले केही साता अघि प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको फिल्ड अफिस हटाउने जनाएको थियो ।

सोहीअनुसार फिल्ड अफिस विराटनगरबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दूतावासको फिल्ड अफिसको सेवा बन्द गरिएको सुन्नमा आए पनि आधिकारिक रुपमा भने कुनै जानकारी नआएको बताए ।

उनले नेपाल र भारत सरकारबीचको उच्च नेतृत्व तहको कुरा भएकाले यस बिषयमा जानकारी नगराइएको हुन सक्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको थियो ।

जस अनुसार यसअघि नै भारतीय दूतावासको फिल्ड अफिस हटाउने भनिए पनि कार्यान्वयमा आउन सकेको थिएन ।

२०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै फिल्ड अफिस निर्माण गरिएको थियो ।

विराटनगरस्थित फिल्ड अफिसबाट हुँदै आएको काम अब काठमाडौंस्थित भारतीय दूतावासबाटै हुने भएको छ ।