Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अन्तर्राष्ट्रिय सम्झौताले पनि अधिकार दिन्छ, न्याय नपाए विद्रोह गर्छौं– बेपत्ता पीडित परिवार


0
Shares

काठमाडौं । सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरूले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले काठमाडौंमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरूको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिनुभएको हो ।

अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए विद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताउनुभयो ।

पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताउनुभयो । उहाँले कोठा र होटलमा कार्यक्रम गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताउनुभयो । उहाँले राजनैतिक रुपमा वकालत हुनेगरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पीडितहरू वर्तमान सरकार र नेतृत्वले बेपत्ता परिवार, घाइतेको आवाज नसुनेको आरोप लगाए ।