
काठमाडौं । नेपालमा मुखबाट खुवाइने हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएको छ । विल गेट्स फाउन्डेसनको अनुदानमा सुरु हुन लागेको अनुसन्धान प्रक्रिया समेत सुरु भइसकेको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने बताइएकाे छ ।
स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा नेपालमा हैजाविरुद्ध खोपको क्लिनिकल ट्रायल गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । अनुसन्धान शुरु गर्न स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत सम्बन्धित निकायबाट केही प्रक्रिया पूरा गर्न बाँकी रहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
हैजा भनेको धेरै मानिसको ज्यान लिने कडा किसिमको झाडापखाला हो । यो अति कम विकसित मुलुकहरुमा बढी फैलने गर्छ । नेपालमा हुन लागेको हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायलको नेतृत्व अन्तराष्ट्रिय भ्याक्सिन इन्स्टिच्युट कोरियाले गर्नेछ ।
हैजाले विश्वको ४७ देश प्रभावित छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगबाट विश्वमा बर्षेनी २९ लाख मानिस प्रभावित हुने र ९६ हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्